पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनमा धनकुटा शोकमग्न

धनकुटा – माथिल्लो कोप्चेस्थित राप्रपा पार्टी कार्यालयमा बिहीबार सबेरै भेला भएका शुभेच्छुक र कार्यकर्ताहरू पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनमा शोकमग्न देखिन्थे ।
मुगामा जन्मिएर ६ दशकदेखि सक्रिय राजनीतिमा रहेका थापाको कुशल राजनीतिक नेतृत्व, समग्र मुलुक र जिल्लाको विकास र दुःख सुखको ‘चिन्तन’  सम्झिएर सबैका आँखा रसाएका थिए । थापाकै पहलमा बेलायती सहयोगमा ५२ किमि लम्बाइको धरान-धनकुटा सडक निर्माण, पाखि्रबासमा व्यावसायिक कृषि अनुसन्धान केन्द्र स्थापना र जिल्लामा विद्युत् विस्तार भएको थियो ।

यस्तै, भारतीय सहयोगमा सञ्चालित सदरमुकामको बृहत् खानेपानी आयोजना, स्वास्थ्य र शिक्षाका विभिन्न भवन र परियोजना उनको पहिचानसँग जोडिएर आउँछन् । ०४६ सालको परिवर्तनपछि विराटनगर सार्न लागिएका क्षेत्रीय कार्यालय धनकुटामै राख्न थापाले पहल गरेका थिए ।
केन्द्रसम्म सोझो पहुँच र प्रभाव भएकाले विपक्षी दलका नेता/कार्यकर्ता र उनकै विरोधीसमेत निर्णायक मतका लागि थापाकामा पुग्थे । ‘उहाँले नमागे पनि तपाईंको जिल्लामा के राखौं भन्दै मन्त्री र दलका शीर्ष नेता सोध्न आउँथे,’ राप्रपा धनकुटाका अध्यक्ष कुमारबहादुर थापा भन्छन् । विकाससँगै सधैं राजनीतिको केन्द्रमा रहेर सन्तुलन र परिवर्तनलाई स्वीकार गरेकै कारण थापा धनकुटाको पहिचान बन्न सफल भएको उनी बताउँछन् ।
अपेक्षा राखेर दैलो ढक्ढक्याउन आउने कसैले रित्तो हात र रातो मुख लाएर फर्किनु परेन । ‘सम्भिmएर पुग्ने जोकसैलाई यो वा त्यो पार्टी र समूहको भनेर विभेद गर्नु भएन,’ थापा भन्छन् । विशेष अवसर र परिस्थितिमा मात्रै गृह जिल्ला पुग्ने थापा त्यहाँका हरेक गतिविधिबारे भने मिहीन जानकारी राख्थे । कार्यकर्ता र शुभेच्छुकसँग भेट हुँदा राजनीतिकभन्दा पारिवारिक सोधखोज बढी गर्थे ।
‘सन्चो सुविस्तापछि बारी-बगरमा के फल्यो, केटाकेटीले खान पाएका छन् भनेर सोध्नुहुन्थ्यो,’ राप्रपा भोजपुर क्षेत्र नम्बर २ का अध्यक्ष शिवकुमार राईले सम्झिए ।
पटकपटक प्रधानमन्त्री भएर गृह जिल्ला आएका बेला उनी अधिकांश समय सदरमुकाममै बस्थे । त्यहाँ उनको आफ्नै घर भने छैन । भीमनारायण चोकमा शुभेच्छकु शंकर डिठ्ठाले उपलब्ध गराएको घरमा खान्थे, त्यहीं बस्थे । पार्टी काम र अन्य समारोहमा आएका बेला फुर्सदमा जन्मघर मुगा पुगे पनि त्यहाँ बास बस्दैनथे, साँझ सदरमुकामै फर्किन्थे ।
डिठ्ठाका ३ पुस्तासम्म थापा त्यस घरमा बसे । कौसीसहितको सानो हल भएको एक कुनामा थापाको सुत्ने खाट र भेटघाटका लागि आउने पाहुना बस्ने सोफा राखिएको छ । यहाँ आएका बेला बिहान उठेर खुला कौसीमा तातो पानीले नुहाएर दूधमा पकाएको जौको परिकार र उसिनेको स्याउ खाएपछि भेटघाट सुरु हुन्थ्यो । जिल्लास्थित प्रशासन र विकासे अड्डाका प्रमुख, पत्रकार, शुभेच्छकु र कार्यकर्तासँग जिल्लाको अवस्था र जनताको माग र आवश्यकताबारे सोधखोज गर्थे ।
उनी ५ वर्षको हुँदादेखि नै यही घरमा बसेको सुनेको डिठ्ठाकी बुहारी गंगा श्रेष्ठले बताइन् । ३६ वर्षअघि बिहे गरेर आएदेखि गंगाले नै थापा धनकुटा आएका बेला खाना र खाजा बनाएर खुवाइन् । ‘खानामा कहिल्यै नटखट भएन, जे पनि मीठो मानेर खाने,’ उनले भनिने । पहिले दूध, दही, तरकारी र मासु मन पराउने थापाले बढ्दो उमेर र रोगले च्याप्दै लगेपछि मासु कम गरे । पछिल्लोपटक गत पुस २३ मा धनकुटा महोत्सव उद्घाटनका अवरमा आएका थापाको गृह जिल्लामा त्यही नै अन्तिम औपचारिक कार्यक्रम बन्यो ।

मुगामा राणाकालमै काठमाडौंबाट कालिगढ ल्याएर बनाएको १ सय झ्यालढोका र २४ कोठा रहेको दरबार शैलीको घर ०५९ सालमा माओवादीले बम प्रहार गरेर भत्काइदिए । थापा परिवारले स्थापना गरेको संस्कृत पुस्तकालय, पुराणघर, अतिथि गृह, शिव, राम र हनुमानलगायत मन्दिर र मूर्ति तोडफोड गरियो । लामो समयसम्म नित्य पूजा रोकियो । गत वर्ष संविधान सभा चुनावमा भोट खसाल्न एक किमि नजिकको राम उच्च माविसम्म पुगेका थापा जन्मघर नटेकी फर्केका थिए । ईकन्तिपुरमा समाचार छ ।