नवलपरासी । शुक्रबार विहान धादिङलाई केन्द्रविन्दु बनाएर आएको भूकम्पको कारण भागदौड हुंदा हृदयघात भएर नवलपरासीमा एक जनाको मृत्यु भएको छ ।
नवलपरासीको देउराली ४ बेलहानी निवासी ६२ वर्षीय गणेशबहादुर श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक परशुराम तिवारीले जानकारी दिए ।
हृदयघात भइ बेहोस भएका श्रेष्ठलाई उपचारका लागि चितवनको चितवन मेडिकल कलेजमा उपचारका लागि लाँदा अस्पतालले मृत घोषणा गरेको थियो ।
योसहित नवलपरासीमा भूकम्पका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ । यसअघि गत वैशाख १२ गतेको भूकम्पले नवलपरासीको रुचाङ २ मा एक महिलाको मृत्यु भएको थियो ।
त्यसैगरी वैशाख १२ को भूकम्पले नवलपरासीमा ११ जना घाइते भएका थिए भने २९ गतेको भूकम्पले २४ जना घाइते भएका छन् ।
करेन्ट लागेर मृत्यु
यसैबीच नवलपरासीको कावासोतीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कावासोती नगरपालिका १० मगरकोटकी ४५ वर्षीय लिला आचार्यको करेन्ट लागेर मृत्यु भएको हो ।
खेतमा पानी लगाउने क्रममा मोटरको तार सर्टभइ करेन्ट लागेर गम्भीर घाइते भएकी आचार्यको उपचारको क्रममा कालिगण्डकी अस्पताल कावासोतीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
-रामकुमार श्रेष्ठ, अन्लाईनखबरबाट