जीतपुरफेदी, काठमाडौं – काठमाडौं उपत्यकाको तारकेश्वर नगरपालिका-८ जीतपुरफेदीका बासिन्दालाई भूकम्पसँगै बाघले तर्साउने गरेको छ ।
वैशाख १२ गतेको विनाशकारी भूकम्पको पीडा सर्वसाधारणमा एकातिर छँदैछ त्यससँगै बाघले रातमा सुतेको ठाउँ वरपर आएर तर्साउने गरेको स्थानीय रामशरण गजुरेल बताए ।
उनले भने, भूकम्पले सम्पूर्ण घरगोठ लग्यो बारीमा पाल टाँगेर बसेका छौँ, त्यहाँ पनि शिवपुरी राष्ट्रिय निकुञ्ज र नागार्जुन जङ्गलबाट बाघ आएर त्रास देखाउने गरेको छ ।
यस्तै तारकेश्वर नगरपालिका-६ का ८० वर्षीय वृद्ध होमनाथ अर्यालको पीडा पनि उस्तै छ । भूकम्पले घरगोठ लगेपछि गोठमा बाँधेको पाँचवटा बाख्रा, दुईवटा लैनो गाई र दुई बाच्छाबाच्छीको बिचल्ली भएको छ ।
सम्पत्तिको नाममा भएको घर भत्केको र हातमुख जोर्न पालिएका पशु चौपायाको समेत असुरक्षित भएकामा उनी चिन्तित छन् । रातमा आएको बाघले खाइदिने हो कि भन्ने चिन्ताले रातभर जाग्राम बस्ने गरेकाे बताए ।
यस्तै सोही ठाउँकै ८२ वर्षीया उमापति अर्यालको व्यथा पनि उस्तै छ । उनले पालेका दुईवटा लैना गाईको बिजोग भएपछि आफूलाई बास बस्न दिएको पाल गाईलाई ओढाएर आफू अर्कोको छाप्रोमा बस्दै आएको बतार्इन् ।
दमको व्यथा भएका अर्यालले भूकम्पपीडित बूढापाकाका लागि राज्यले कम्बल र कपडा दिन लागेको छ भन्ने खबर के साँचो हो भन्दै राहत दिन गएका टोलीसँग प्रश्न गरिन् ।
तारकेश्वर नगरपालिकामा भूकम्पले १० जनाको मृत्यु भएको थियो भने दुई दर्जनभन्दा बढी मानिस घाइते भएका थिए । रासस