५०० भूकम्पपीडित परिवारलाई हिमानी कोषद्दारा तीन हजार थान जस्तापाता उपलब्ध

हिमानी कोषले धादिङस्थित तसर्पू गाविसका ५०० भूकम्पपीडित परिवारलाई आज तीन हजार थान जस्तापाता उपलब्ध गराएको छ । 
 
गएको वैशाख १२ गतेदेखि आएको भूकम्पका कारण त्यस आसपास क्षेत्रका घर भत्किएर स्थानीय बस्न नपाएपछि उनीहरुलाई पुनःनिर्माणमा सहयोग गरिएको हो । 
 
उक्त गाविसमा करिब एक हजार २०० घरधुरी रहेका तथा ९ वडामध्ये ३, ४, ५ र ६ का स्थानीयलाई टहरा बनाई पुनर्वास गराउने उद्देश्यले कोषले ती सामग्री सहयोगस्वरुप प्रदान गरेको हो । 
 
कोषका अध्यक्ष हिमानी शाहले स्थानीयलाई सहयोग प्रदान गर्दै विनाशकारी भूकम्पका कारण राष्ट्रमा ठूलो धनजनको क्षति भएको र यस्तो अवस्थामा दुःखमा परेका नागरिकलाई कोषमार्फत मानवीय सहयोग गरिएको बताइन। 
 
उनले अहिले सङ्कटको समयमा सम्पूर्ण नेपाली एकजुट भई एक अर्कालाई सहयोग र सद्भाव कायम गरी पुनःनिर्माणमा जुट्नपर्ने धारणा राखिन्। रासस