उमाकान्त पाण्डे
युएई , जेठ ३० । संयुक्त अरब एमिरेट्स युएईमा रहेका नेपालीले भूकम्प पीडितका लागि राहत जुटाउन साँस्कृतिक कार्यक्रम गरेका छन । यहाँ रहेका नेपाली संघसस्थाको संयूक्त प्रयास तथा राष्ट्रिय कलाकारहरुको निःशुल्क प्रस्तुतिबाट आर्थिक सकंलनका लागि कार्यक्रम आयोजना गरिएको हो ।
भूकम्पपीडित नेपाल र नेपालीहरुको सहयोगार्थ शुक्रबार आबुधाबीको अलनादा स्कुलको हलमा आयोजित बिशेष सास्कृतिक कार्यक्रममा नेपालका चर्चित कलाकारहरुको बिशेष प्रस्तुती थियो । कार्यक्रमका लागि नेपालबाट कलाकारहरु आफ्नो प्रस्तुती देखाउन निःशुल्क (आयोजकबाट रकम नलीई ) युएई आएका थिए ।
अस्ट्रेलिया बाट यूएई आएकी प्रजिता गेलालको गायकी बाट सुरु भएको सास्कृतिक माहोल तिलक बम मल्ल र ईन्द्र जीसीको प्रस्तुतीले तताएको थियो । त्यसै पनि दर्शकको भीडले उकुसमुकुस कार्यक्रम हलभित्र गायक तीलक बम मल्लले ‘मुटुछुने लुग्लेको हावाले’ गीतलाई ‘मुटु छुने कतारको हावाले भनेर’ झुक्किदा दर्शकले दुबइ-दुबइ भन्दै चिच्चाएर सच्चाउन भनेका थिए । ‘हातमा रुमाल हल्लाउने नानीले’ गीत गुन्जिदा दर्शक सबैले आ-आफ्नो रुमाल हल्लाउदै हुटिङ गरिरहेका थिए ।
महानायक राजेश हमाल र उनकी ध्रर्मपत्नी मधु भट्टराई भने बिशेष अतिथीको रुपमा आशन ग्रहण गरेका थिए । राजेश हमालले समय समयमा स्टेजमा उक्लिएर केही चलचित्रका ‘डाईलग’ सुनाउदै यूएईमा रहेका सबै नेपालीलाई एकजुट हुन अनुरोध गरेका थिए ।
हास्यकलाकार दिपक राज गिरी र दिपा श्री निरौलाले धनीया र रामबिलाशको अभिनय मार्फत दर्शकलाई दोहोरी मार्फत दर्शकलाई हसाएका थिए । ‘कोही भन्छन यो नेपाल भारत र चीनले चलाएको छ , ‘कोही भन्छन नेपाल नेताहरुले चलाएका छन , ‘कोही भन्छन यो देश बिदेशी पाहुनाले चलाएका हुन, तर हामी भन्छौ यो देश बिदेशमा हड्डी घोटेर , पसिना सँग पैसा साट्ने तपाईं परदेशीले चलाऊनु भएको छ’ दिपक र दिपाले एक स्वरमा भनीरहदा दर्शक दिर्घाबाट समर्थनमा ताली गुन्जिएका थिए ।
लोक गायिका सम्झना लामीछाने मगरले ‘घरमा पराल बारीमा बन्सो , के छ तनी सन्चोकी बिसन्चो’ भनेर बिदेशमा कार्यरत नेपालीलाई भुईचालो पछीको अवस्था बारे सोधीखोजी गरेकी थीईन । उनले आफ्ना चर्चित भाका गाएकी थीईन ।
लोक गायक ईन्द्र जीसीले ‘तीनमहिना नौतुनवा , तीन महिना चाईना’ मार्फत परदेशीको भावनालाई समेटेको आफ्नो आउन लागेको गीत पस्किएका थिए । उनले आफ्ना चर्चित लोकभाका पनि गाएका थिए ।
गायीका आस्था राउतले ‘चौबन्धी चोली लाको छैन भन्दैमा,नेपाली होइन भन्न कहाँ पाईन्छ’ भनेर गाउदा दर्शकले वान्समोर वान्समोर भनेर समर्थन गरिरहेका थिए ।
डिआइडी लिटिल मास्टर तेरिया फौजा मगरले आफ्नो नृत्यकला प्रस्तुत गरेकी थीईन । भूकम्प बाट आमा बुवा गुमाएका आफु जस्तै स-साना बालबालिकालाई धादिङ पुगेर सहयोग गरेको सुनाउदै तेरियाले आफुले नाचेर कमाएको धेरथोर सहयोग थप त्यस्तै पीडितलाई सहयोग गर्ने बताईन ।
कार्यक्रमका लागि युएई आउने सम्पूर्ण कलाकारले आफ्नो प्रस्तुतिका लागि कुनै शुल्क लिएनन् । अलनादा स्कुलले कार्यक्रमका लागि निशुल्क हलको ब्यबस्था गरेको थियो । कार्यक्रममा यूएईका लागि नेपाली राजदुत धनन्जय झाको समेत उपस्थिती थियो । कार्यक्रम सफल बनाउन युएईभर छरिएर रहेका नेपाली अगुवा कामको जिम्मेवारी बाँडफाँड गरेर लागेका थिए । कार्यक्रममा आउने कलाकार बाहेक अतिथी, दर्शक र आयोजक समितीका सचिवालय सदस्य समेतले अनिवार्य टिकट लिएर भूकम्प पीडितका लागि राहत सकंलनमा सहयोग गरेका थिए ।
कार्यक्रममा करीब ३ हजार बढी दर्शकको प्रत्यक्ष उपस्थिती थियो । त्यही टिकट तथा स्थानिय सहयोगी दाता बाट सकंलन गरिएको सम्पूर्ण रकम भूकम्प पीडितका लागि सिधै प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने यूएईमा कार्यरत रुन्चे गायक प्रकाश पौडेलले बताउनुभयो ।
कार्यक्रमका लागि आवश्यक हल आबुधाबीमा रहेको अल नादा स्कुलले निशुल्क उपलब्ध गराएको थियो । त्यस्तै कलाकारका लागि आउन जान भिसादेखि हवाई टिकटसम्म आबुधावीमा रहेको नेपालीको ट्राभल्स ग्रीन लाइन र अलएनमा रहेको अन्नपूर्णले सहयोग गरेका थिए । त्यस्तै यहाँको लुलु ग्रूप लगायत नेपाली ब्यवसायी र संघसस्थाका प्रतिनिधिहरुले सहयोग गरेको अन्तरास्ट्रिय कलाकार समाज यूएई च्याप्टरका अध्यक्ष मोहराज शर्मा मोहनले बताउनु भयो ।
युएईका अन्य राज्यबाट नेपाली दर्शक ल्याउन तथा सहयोग जुटाउन सम्बन्धित स्थानमा रहेका नेपालीले अग्रसरता देखाएका थिए ।
युएईमा रहेका सम्पूर्ण नेपाली मिलेर गरेको कार्यक्रमले नेपालीको एकतालाई झन बलियो बनाएको कार्यक्रमका संयेजक एनआरएन युएईका अध्यक्ष कृष्ण भुसालले जानकारी दिनुभयो ।
कार्यक्रमको व्यवस्थापनका लागि भरत राना मगर, प्रकाश पौडेल , मोहराज शर्मा , बिकास अधिकारी, राजु तमु , उत्तम अधिकारी , बालकृष्ण खड्का,राकेश जयसवाल , तारा मल्ल लगायतका नेपाली जुटेका थिए ।
पत्रकारलाई वेवास्ता
यूएईमा रहेर नेपाली पत्रकारिता गरिरहेका पत्रकारलाई भने कुनै वास्ता गरिएन । कार्यक्रमको रिपोर्टिङका लागि पुगेका सबै पत्रकारलाई राम्रो सगं लेख्न र फोटो तथा भिडियो खिच्न समेत हम्मेहम्मे परेको थियो । कार्यक्रममा पुगेका संचारकर्मीहरुले आफुहरु टिकट काटेर दर्शक बनेर आएकोले कार्यक्रम हेर्ने तर समाचार नलेख्ने बताए । कार्यक्रम सफल बनाउन यहाँ रहेका संचारकर्मीहरुको ठुलो हात रहेको भन्दै कार्यक्रममा पत्रकारलाई वेवास्ता गरिनु उनीहरुको अपमान भएको कतिपय संघसस्थाका प्रतिनिधिहरुको भनाइ थियो । तर आयोजकले भने यूएईमा रहेर पत्रकारिता गर्ने सबैलाई प्रेस पासको ब्यबस्था गरे पनि कतिपय आयोजक समितिका सदस्यको गल्तीका कारण पत्रकार समेत टिकट लिन वाध्य हुनु परेको बताए । ‘हामीले यूएईमा सकृय सबै पत्रकारलाई प्रेस पास पनि दिने र टिकट मार्फतको रकम सहयोग स्वरुप लिने योजना बनाएर काम गरेका थियौ , तर प्रेसको महत्व नबुझ्नेहरुले एक तर्फी निर्णय गरेर प्रेस पास नदीएर सिङगो आयोजकलाई नै विवादित बनाएको नाम नलेख्ने सर्तमा आयोजक मध्येका एक सदस्यले बताए ।’ आफु कार्यक्रमको अन्य ब्यबस्थापकिय पक्षमा खटेकोले सबै तिर ध्यान जान नसकेको उनको स्वीकारोत्ती छ ।


