यूएईमा हत्या अभियोगमा ३ बर्ष यता यूएईको जेलमा रहेका अनिश खालिङ राइ नेपाल फर्किए

उमाकान्त पाण्डे
यूएई, अलऐन । – हत्या अभियोगमा यूएईको जेलमा रहेका अनिश खालिङ राइ नेपाल फर्किएका छन । पाकिस्तानी नागरिकको हत्या अभियोगमा मृत्युदण्डको सजायँ सुनाइएका अनिश खालिङ राई बुधवार जेलबाट रिहा भई नेपाल फर्किएका हुन । 
राइलाई सजाय मीनाह गरेर नेपाल पठाएको यूएईका लागि नेपाली राजदुत धनन्जय झाले उज्यालोलाई जानकारी दिनुभयो । ‘कानुनी प्रकृया पुरा गरेर यहाँको सरकारले नै बिमानस्थल सम्म पुराएर छोडेकोले उनलाई सहयोग गर्ने नेपाली र दुतावासलाई राइले फोन सम्पर्क गर्न नसकेको राजदुत झाले बताउनु भयो । उज्यालोसँग कुरा गर्दै राजदुत झाले भन्नुभयो ‘हत्या अपराध जस्ता मुद्दा लागेको जो सुकैलाई पनि डिपोर्ट ( देश निकाला , पुनह: आउन नमिल्ने गरी ) गर्ने भएकोले उनी नेपाल पुगेपछी मात्र अधिकारिक जानकारी कुटनितिक माध्यम मार्फत आउछ ।’ 
चार बर्ष पहिले यूएई आएका राइलाई आफ्नै सहकर्मी पाकीस्तानी नागरिकको हत्या गरेको अभियोग लागेको थियो । 
आफूलाई पाकिस्तानी नागरिकले अप्राकृतिक यौनसम्बन्धका लागि जबर्जस्ती गर्न खोजेको बिषयमा पाकिस्तानी नागरिक सँग झगडा भएको र झगडाले उग्र रुपलिदा घाइते भएका पाकिस्तानी नागरिकको उपचारको क्रममा मृत्युभएपछि उनीमाथि हत्याको आरोप लागेको थियो ।
 
मत्स्यपोखरी संखुवासभाका राइ यूएई आएको १ बर्ष पछी २०६९ साल कात्तिकमा जेल चलान भएका थिए । उनलाई यूएईको अलएेन जेलमा राखिएको थियो ।  
नेपाल फर्काउनका लागी अनिशलाई गत बिहीवारनै जेल प्रशाशनले कैदी रिहा गर्ने बिभाग(इबाद) पुराएको थियो ।  
स्थानिय प्रशाशनले अनिशको बाँकी २ बर्षको जेल सजाय मिनाह गरिदिए पछी उनी नेपाल फर्किएको अनिशको मुद्दालाई दुतावास र संघसस्था बीच समन्वयब गरेर सहयोगमा जुटेका एनआरएन यूएईका अध्यक्ष कृष्ण भुसालले बताउनु भयो । 
यूएईमा जेल जीवन बिताइरहेका नेपालीको तथ्याकं दुतावासले सकंलन गरिरहेको र समस्यामा परेका अन्य नेपालीलाई सहयोग गर्न कुटनैतीक पहल गरिरहेको यूएईका लागि नेपाली राजदुत धनन्ज्य झाको भनाइ छ । 
अभियोग लागेको ३ बर्ष सम्म के भयो ?
सुरुमा यूएईको आबुधाबीमा रहेको तल्लो अदालतले राइलाई मृत्युदण्डको सजाय सुनाएको थियो । तल्लो अदालतले सुनाएको फैसलालाई माथिल्लो अदालतले मृतक पाकिस्तानी नागरिकको परिवारलाई विकल्प प्रदान दिदै सजाय गर्ने फैसला गरेका थियो । 
अदालतले दिएको विकल्पमा ‘खुनको बदला खुन’ अर्थात हत्या आरोपीलाई मृत्युदण्डनै दिने,ब्लडमनी लिएर सजाय मिनाह गरिदिने वा अन्य कुनै सजाय दिने भन्ने बिषयमा पीडित पाकिस्तानी नागरिकको परिवारलाई नै निर्णय लिन अनुरोध गरेको थियो ।   
अदालतले सुनाएको फैसला अनुरुप मृतक पाकिस्तानी नागरिकका परिवारले ब्लड मनि बापतको रकम स्वीकारे पछि राईका परिवारको अनुरोधमा संसारभर रहेका नेपालीको प्रयासमा ब्लडमनी जुटाईएको थियो । 
राइलाई बचाउन पीडित पाकिस्तानी नागरिकका परिवारले ‘ब्लड मनि’ स्वरुप झण्डै ८६ लाख नेपाली रुपैयाँ अर्थात्  ३ लाख ५ हजार यूएई धिराम्स अदालत मार्फत मागेको थियो ।
राइलाई बचाउन विश्वभर अनिश बचाउ अभियान सन्चालन गरेर आर्थिक सकंलन गरिएको थियो । अभियानलाई विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपाली संघ, विभिन्न संघ-संस्था तथा व्यवसायीहरुले सहयोग रकम जुटाउने अभियान चलाएका थिए । अभियान बाट उनको रक्षाका लागि आबश्यक भन्दा बढी रकम सकंलन भएको थियो । विश्वभर बाट उठेको रकम नेपालमा रहेको अनिश खालिङ बचाउ समिति लाई बुझाईएको थियो ।   
अनिशलाई बचाएर नेपाल पठाउन आबश्यक रकम सकंलन भएपछि कुटनीतिक पहल मार्फत नेपालमा जम्मा भएको रकम दुतावास र परराष्ट्रको सहयोगमा यूएई ल्याइएको थियो । नेपाल बाट ल्याइएको पैसा अदालत मार्फत पीडित परिवारलाई बुझाउन दुतावासका कर्मचारी गएका थिए । पैसा बुझाउन जादा अनिशले ‘ब्लड मनि’ स्वरुप बुझाउनु पर्ने झण्डै ८६ लाख नेपाली रुपैयाँ अर्थात्  ३ लाख ५ हजार यूएई धिराम्स यूएई बाट अन्य कसैले बुझाई सकेको विवरण पाएपछि दुतावासले नेपाल बाट ल्याएको रकम पुनह: नेपाल फर्काएको थियो । अनिशले बुझाउनु पर्ने त्यत्ती ठुलो रकम कसले ? किन ? तिरिदियो भन्ने अझै पनि खुलेको छैन । राइले बुझाउनु पर्ने ८६ लाख नेपाली रुपैया यहाँको स्थानिय बित्तिय सस्था मार्फत अदालतको खातामा जम्मा गरिएको दुतावासलाई प्राप्त सूचनामा उल्लेख छ ।    
उनलाई बचाउन आब्श्यक ब्लडमनी तिरे पनि अदालतले दिएको ५ बर्ष सम्मको जेल सजाय भने बिताउनु पर्ने बताइएको थियो । तीन बर्ष जेलमा बिताइसकेको ले अबको २ बर्ष भित्र उनी स्वदेश फिर्न सक्ने अनुमान नेपाली समुदायको थियो । यधपी मुस्लिम समुदायको पवित्र महिना रमाजानको अवसर पारेर राइलाई सजाय मिनाह गरिएकोले उनी नेपाल फिर्न सकेका हुन । 
करीब चार लाख बढी नेपाली कार्यरत संयुक्त अरब एमिरेट्स युएईमा नेपाली नागरिकलाई मृत्युदण्डको सजाय सुनाए पछि यहाँ कार्यरत नेपाली चिन्तित थिए । यधपी उनी नेपाल फर्किने पक्का भएपछि यहाँ कार्यरत नेपालीहरु खुशी भएका छन ।