नयाँ प्रधानमन्त्रीको निर्वाचनमा कुनै पनि सांसद अनुपस्थित हुन वा तटस्थ बस्न नपाउने

नयाँ संविधान अनुसार नयाँ प्रधानमन्त्रीको निर्वाचनमा यसपटक कुनै पनि सांसद अनुपस्थित हुन वा तटस्थ बस्न नपाउने भएका छन्।
रुपान्तरिक संसदले हालै पारित गरेको अन्तरिम कार्यविधि २०७२ को दफा १९ को उपदफा १३ अनुसार प्रधानमन्त्रीको निर्वाचनमा कानुन बमोजिम बाहेक कुनै पनि सदस्य अनुपस्थित रहन वा मत दिन्न भनी तटस्थ रहन नपाउने व्यवस्था गरिएको छ।
अघिल्लो संविधानसभामा सरकार गठनका लागि कांग्रेस नेता रामचन्द्र पौडेलको उम्मेदवारीमा १६ चरणको निर्वाचनसम्म एमाले अनुपस्थित बसेर अनिर्णित भएपछि सर्वोच्च अदालतले कानुन बमोजिम अनुपस्थित रहन वा तटस्थ बस्न नहुने निर्देशनात्मक आदेश दिएको थियो।
त्यसपछि भएको निर्वाचनमा एमालेका तत्कालिन अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्रीमा निर्वाचित भएका थिए।
सर्वोच्चको त्यही आदेशका आधारमा अहिले तयार पारिएको कार्यविधिको दफा १९ को उपदफा १ अनुसार, संविधानको धारा २९८ को उपधारा २ बमोजिम असोज २१ गतेभित्र राजनीतिक सहमतिको सरकार गठन हुन सकेन भने २२ गते देखि बहुमतीय आधारमा चुनाव प्रक्रिया शुरु हुनेछ। 
कार्यविधिको दफा १९ कै उपदफा २ बमोजिम सभामुखले असोज २२ गते नै बहुमतका आधारमा प्रधानमन्त्रीको निर्वाचनका लागि सचिवालयबाट निर्वाचन कार्यक्रमको सूचना प्रकासित गर्नेछन्। यसरी प्रधानमन्त्री पदका लागि उम्मेदवारले एकजना प्रस्तावक र अर्को एकजना समर्थक राखी संसद सचिवालयमा उम्मेदवारी दर्ता गर्नुपर्नेछ।
सभामुखले यसरी निर्वाचन प्रक्रिया शुरु गर्दा असोज २४ गतेसम्ममा निर्वाचन सम्पन्न गरी नयाँ प्रधानमन्त्रीको घोषणा गर्ने तयारी गरिरहेका छन्।
दफा ५ बमोजिम प्रधानमन्त्री पदका लागि एकजना मात्रै उम्मेदवारको सूचना प्राप्त भएमा प्रस्तावक र समर्थकले सदनमा बोलिसकेपछि सभामुखले उक्त उम्मेदवारीलाई सदन समक्ष निर्णयार्थ पेश गर्नुपर्नेछ।
कार्यविधि अनुसार मतविभाजनको प्रक्रिया मार्फत हाल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतले उक्त नाम पारित भएमा सम्बन्धित उम्मेदवार प्रधानमन्त्री पदमा निर्विरोध निर्वाचित भएको घोषणा सभामुखले गर्नेछन्।
तर संसदको बहुमतबाट उक्त नाम पारित हुन नसकेमा सोही दफाको उपदफा २ बमोजिम प्रारम्भ भएको निर्वाचन प्रक्रिया अन्त्य गरी नयाँ निर्वाचनको प्रक्रिया पुनः शुरु हुनेछ। यसरी सुरू भएको निर्वाचन प्रक्रियामा कुनै सांसदले उपस्थित नहुन वा भोट नहाली तथष्ट बस्न पाउने छैन।
उपदफा ७ बमोजिम एकभन्दा बढी उम्मेदवारीको सूचनामा दर्ता भएमा सभामुखले प्रत्येक उम्मेदवारको पक्षमा रहने सदस्यहरुलाई भिन्नाभिन्नै ढोकाबाट उपकक्ष (लबी) मा प्रवेश गराएर मत संकलन गरी परिणाम सुनाइने छ।
यदि दुई वा सो भन्दा बढी उम्मेदवारको सूचना परेको अवस्थामा कुनै पनि सदस्यले बहुमत प्राप्त गर्न नसकेमा सभामुखले सबै उम्मेदवारको सूचनालाई पुन एकपटक निर्णयार्थ संसदको अर्को बैठकमा पेश गर्नेछन्। यसमा पनि कुनै उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारको सूचनालाई पुनः दोस्रोपटक निर्णयार्थ संसदको बैठकमा पेश हुनेछ।
त्यस बैठकमा पनि कुनै परिणाम नआएमा सभामुखले निर्वाचन प्रक्रिया अन्त्य गर्दै पुनः अर्को निर्वाचन प्रक्रिया अबलम्बन गर्नुपर्नेछ। सेतोपाटीमा समाचार छ ।