भक्तपुर । भक्तपुरको मध्यपुर थिमि सहकारी अन्तर्गतको महिला उप-समितिले २ दिने
उद्घोषण तथा वाक कला सम्बन्धिको क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ
। संस्थाका महिला शेयर सदस्यहरुको अन्तर्निहीत बोल्न सक्ने तथा औपचारिक
कार्यक्रम सञ्चालन गर्न सक्ने क्षमतालाई अभिवृद्धि गर्न तालिम आयोजना
गरिएको हो ।
शंखधर चोकस्थित जन आदर्श कलेजमा मंसिर ४ र ५ गते आयोजित तालिममा संस्थाका
२० महिला सदस्यहरुले उत्साहजनक सहभागिता जनाएका थिए । पत्रकार केके
मानन्धरले तालिममा सैद्धान्तिक र व्यवहारिक ज्ञान दिएर सहजीकरणको भूमिका
निर्वाह गरेका थिए । त्यस्तै, ईमेज च्यानलका वरिष्ठ समाचार वाचिका गृष्मा
राजभण्डारीले समेत सञ्चार क्षेत्रका आफ्ना अनुभवहरु तालिममा सहभागिसामु
व्यक्त गरेका थिए ।
दुई दिने क्षमता अभिवृद्धि सम्बन्धिको तालिम पश्चात आयोजित समापन
कार्यक्रममा संयोजक लक्ष्मी भासिंकले महिला दिदीबहिनीहरुमा क्षमता
अभिवृद्धिको लक्ष्य लिएर तालिम आयोजना गरिएको बताउनु भयो । बदलिंदो
परिस्थिति अनुकूल महिलाहरुको उत्थान, हरेक क्षेत्रमा महिलालाई सहभागिता
जनाउन सक्ने क्षमताको विकास गर्न समेत तालिम आवश्यक रहेको उहाँको भनाई
थियो । त्यस्तै, संस्थाका अध्यक्ष सुमन श्रेष्ठले आगामी दिनमा समेत यस्तै
सीप विकास तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गर्ने बताउनुभयो
।
विगत ८ वर्ष देखि सामाजिक उतरदायित्व बहन गर्ने विभिन्न कार्यक्रम
सञ्चालन गर्दै आएको संस्थाले बेलाबखत यस्ता सीपमूलक तालिम, सहकारी तथा
धार्मिक भ्रमण लगायत क्षमता अभिवृद्धि सम्बन्धिका विभिन्न कार्यक्रमहरु
गरेका छन् । आठ सय भन्दा बढी शेयर सदस्य रहेको संस्थाको कारोबार ३ करोड
नाघेको छ ।