उमाकान्त पाण्डे
यूएई । संयुत्त अरब एमिरेट्स यूएईमा समेत टोपी लगाएर टोपी दिवस मनाइएको छ । न कुनै आधीकारीक घोषणा न त कुनै पुर्व तयारी । शुक्रबार परेको इस्वी संवतको नयाँबर्षको दिनमा आफुखुसी दुबईका पार्कमा भेला भएका नेपालीहरुले शिरमा ढाका टोपी , भाद गांउले टोपी र नेपाली पोषाक लगाएका थिए ।
धेरै जसो नेपाली जम्मा हुने शुक्रबारे नेपाली हार्ट बजार लाग्ने बरदुबईको मेट्रो पार्क पछाडी रहेको डाडामा नेपाली समुदाय लेखिएको गाढा निलो टिसर्टमा भेला भएका नेपालीहरुले ढाका टोपी लगाउनुको कारण बताउदै वरपर भएका सबैलाई टोपी लगाउनु बारे बताउदै गरेका देखिन्थे । परदेशमा अन्य देशका नागरिकले आफ्नो देशको पहिचानका लागि बिभिन्न पोषाक लगाउने भन्दै अंग्रेजी नयाँबर्षलाई आफुहरुले टोपी दिवसको रुपमा मनाएको नेपाली समुदाय यूएईका अध्यक्ष विदुर रावतले बताउनु भयो ।
सोही क्षेत्रमै अर्घाखाँचीका केही युवाहरु भेला भएर एकआपसमा टोपी लगाइदिदै थिए । आफ्नो पहिचानलाई थप उचाइमा पुराउने भन्दै उनीहरु टोपी लगाउन भेला भएको अर्घाखाँची संपर्क समिति यूएईका अध्यक्ष राजु खड्काले जानकारी दिनुभयो ।
नयाँबर्षको अवसर पारेर दुबईको जबिलपार्कमा झन्डै आधा दर्जन नेपाली संघसस्थाले आ-आफ्नै तरिकाले शुभकामना तथा बनभोज कार्यक्रम गरेका थिए । तर ती कार्यक्रमलाई पनि आयोजकले मौसमी बाजा जसो गरी टोपी दिवसको रुपमा मनाए ।
पाल्पाली सेवा समाज,कास्की आदर्श सेवा समाज , कांग्रेस निकट नेपाली जनसंपर्क समितिले खुलेरै टोपी दिवस मनाए । जनसंपर्क समितिले आयोजना गरेको कार्यक्रममा यूएईका लागि नेपाली राजदुत धनन्जय झा समेत नेपाली ढाका टोपी लगाएर उपस्थित हुनुभएको थियो ।
पाल्पालीहरुले आफ्नो जिल्लाको उत्पादन पाल्पाली ढाकाटोपी र ढाका पोषाककै प्रदशन गरेका थिए । किरांत राई यायोख्खा युएईले साकेला मनाउन आयोजना गरेको कार्यक्रममा उपस्थित किरात राईहरुले आफ्नो मौलिक पोषाक ढाका टोपी लगाएका थिए । उनीहरुले शिरमा ढाका टोपी घाँगर, चोली, गलामा गहना छपक्कै भिरेर आफ्नो पैत्रिक सम्पत्ती भन्दै भेषभुषा प्रदशन गरेका थिए ।