सागमा फुटबलको स्वर्ण पदक दिलाएर स्वदेश फर्किएका राष्ट्रिय फुटबल टोलीलाई भव्य स्वागत्

१२औं दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा स्वर्ण पदक विजेता नेपाली फुटबल खेलाडी र प्रशिक्षकको स्वदेशमा भव्य स्वागत् गरिएको छ ।
झापाको भद्रपुर विमानस्थलबाट बुधबार अपराह्न काठमाडौं उत्रिएका खेलाडी र प्रशिक्षकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै भव्य स्वागत् गरिएको हो ।
उनीहरुको स्वागत् र सम्मानका लागि खेल पदाधिकारी, आफन्तजन, शुभेच्छुक र खेलप्रेमीहरु हजारौंको संख्यामा विमानस्थल पुगेका थिए ।
विमानस्थलबाट खेलाडीहरुलाई रथमा राखेर गौशाला, रातोपुल, ज्ञानेश्वर, कमलपोखरी, पुतलीसडक, प्रदर्शनीमार्ग हुँदै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुर्‍याइएको थियो ।
नेपाली सेनाको ब्यान्डसहितको टुकडीको साथमा खेलाडीहरुलाई नगर परिक्रमा गराइँदा हजारौ सर्वसाधारणले साथ दिएका थिए ।
१२औं सागको फाइनलमा भारतलाई हराउँदै नेपालले फुटबलमा स्वर्ण पदक जितेको हो । २३ वर्षपछि नेपालले साग फुटबलमा स्वर्ण पदक जितेको हो । – इमेजखबरमा समाचार छ ।

साग फुटबल बिजेता नेपाली राष्ट्रिय फुटबल टोली काठमाडौं आइपुगेको छ। टोली पौने ५ बजे त्रिभुवन विमानस्थलमा आइपुगेको हो। अपरान्ह ३ बजे नै आइपुग्ने भनिएता पनि जहाज डिलेका कारण ढिलाइ हुन पुगेको थियो।
 
टोली भद्रपुर विमानस्थल हुँदै काठमाडौं आएको हो। गुवाहाटीबाट बागडुग्रासम्म जहाजमा आएको टोली बागडुग्राबाट भने भद्रपुर विमानस्थलसम्म बसमा आएको थियो।
 
टोलीलाई विमानस्थलमा भब्य स्वागत गरिएको छ । विमानस्थलका कर्मचारी जहाजमै गरेर खेलाडीहरुको स्वागत गरेका छन्। सेनाको  गाडीमा राखेर उनीहरुलाई नगर परिक्रमा गराइँदैछ । सेनाले सम्मान सघाउनका लागि एक टुकुडी  नै खटाएको छ।
 
फुटबल टोलीको स्वागत गर्न त्रिभुवन विमानस्थलमा फुटबलका फ्यानहरुको घुइँचो लागेको छ। उनीहरुलाई आजै नगर परिक्रमा समेत गरिने एन्फाले जनाएको छ।
 
विमानस्थलबाट सुरु हुने विजय जुलुस तिलगंगा चोक, गौशाला, रातो पुल, ज्ञानेश्वर, कमलपोखरी हुँदै पुतलीसडक आइपुग्ने छ। पुतलीसडकबाट प्रदर्शनीमार्ग, भद्रकाली, सुन्धारा, न्युरोड गेट, जमलहुँदै केशरमहल र त्यहाँबाट नारायणहिटी संग्रहालय हुँदै पुरानो बसपार्क आइपुगेर सहिदगेट, सुन्धारा हुँदै दशरथ रंगशालामा पुगेर टुङ्गिने एन्फाले जनाएको छ।
 
साग फुटबलमा द्धितिय भएको महिला फुटबल टोली भने आज मध्यान्ह काठमाडौं आइपुगेको छ। सेतोपाटीमा समाचार छ ।
झापाको पूर्वी प्रवेशद्वार काँकडभिट्टामा भव्य स्वागत्

नेपाललाई दक्षिण एसियाली खेलकुद (साग)मा फुटबलको स्वर्ण पदक दिलाएर स्वदेश फर्किएका राष्ट्रिय फुटबल टोलीलाई झापाको पूर्वी प्रवेशद्वार काँकडभिट्टामा स्थानीयहरुले भव्य स्वागत् गरेका छन् ।
भारतको गुवाहाटीबाट बुधबार काँकडभिट्टा हुँदै नेपाल प्रवेश गरेका नेपाली खेलाडीहरुलाई मेची पुलदेखि नै हजारौं झापाली खेलप्रेमीहरुले जयजयकार गर्दै स्वागत् गरेका थिए ।
राष्ट्रिय झन्डासहित स्वागत्का लागि उपस्थित खेलप्रेपीहरुले नेपालको इज्जत बढाएको भन्दै खेलाडीहरुलाई फूलमाला, खादा, अबीर लगाएर नागरिक अभिन्दन गरे ।
२ बजे काँकडभिट्टा हुँदै नेपाल प्रवेश गरेका खेलाडीहरु झापाको काँकडभिट्टा, धुलाबारी, चारआली, विर्तामोड हुँदै भद्रपुर विमानस्थलबाट बुधबारै काठमाडौं प्रस्थान गरे । इमेजखबरमा समाचार छ ।