यो साता पनि शेयर बजार परिसूचक नेप्सेसहित कारोबार परिमाणमा पनि बृद्धि आयो ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४ दशमलव ६ अंकले बढेर अन्तिम दिन १२ सय ८३ दशमलव ५२ अंकमा पुग्यो । यो हालसम्मकै उच्चविन्दू हो । गत साता पनि नेप्से १४ अंकले बढेको थियो ।
जलविद्युत्, बीमा र होटल समूहमा दोहोरो अंकको गिरावट आएपनि वाणिज्य बैंक, विकास बैंक, टेलिकम सूचीकृत अन्य र बित्त समूहमा आएको बृद्धिले साताको नेप्से केहि बढेको हो ।
यो साता कारोबार परिमाणमा पनि बृद्धि आयो । १ सय ३८ कम्पनीहरुको दुई अर्ब ८३ करोड १५ लाख रुपैयाँ बराबरका ८० लाख १० हजार कित्ता सेयरहरु खरिद-बिक्री भए ।
गत साता १ सय ३६ कम्पनीहरुको दुई अर्ब ५३ करोड ५५ लाख रुपैयाँ बराबरका ८४ लाख ७० हजार कित्ता सेयरहरु खरिद-बिक्री भएका थिए । कारोबार रकम गत साताको तुलनामा करिब १२ प्रतिशतले बढी हो ।
यो साता कारोबार रकमको आधारमा सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट, कारोबार भएको सेयर संख्याको आधारमा सिद्धार्थ इक्विटी ओरिएन्टेड स्कीम र कारोबार संख्याको आधारमा नेपाल बंगलादेश बैंक अग्रस्थानमा रहे ।
कारोबार रकमकै आधारमा सिटिजन इन्भेस्टमेन्ट ट्रस्टलाई नेपाल इन्भेस्टमेन्ट बैंक संस्थापक, नेपाल इन्भेस्टमेन्ट बैंक, नेपाल बंगलादेश बैंक र सानिमा बैंकले क्रमशः पच्छ्याउन पुगे । – इमेजखबरमा समाचार छ ।