एक सय ७८ वटा कुकुरको बन्ध्याकरण गर्दै बिर्तामोड नगरपालिकाले कुकुर बन्ध्याकरण शिविर सम्पन्न गरेको छ ।
छाडा छोडिएका कुकुरका कारण दिन प्रतिदिन नगर क्षेत्रमा समस्या उत्पन्न भएपछि कुकुरको निःशुल्क बन्ध्याकरण शिविर सुरु गरिएको थियो ।
गत चैत ६ गतेदेखि सुरु गरिएको शिविर बिहीबारसम्म सञ्चालन भएको बिर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत रवीन्द्रप्रसाद वस्तीले बताए ।
जिल्ला पशुसेवा कार्यालय झापा र हार्ट नेपाल पोखराको सहकार्यमा सञ्चालित शिविरमा बन्ध्याकरण गरिएका कुकुरलाई जुकाको औषधि र रेबिजविरुद्धको सुई पनि दिइएको नगरपालिकाका प्रशासन शाखा प्रमुख मेघराज बास्तोलाले बताए ।
शिविरमा आयरल्यान्डकी नागरिक डा मिसालसहित १४ जना विशेषज्ञको टोलीले सेवा दिएको थियो । (रासस)