काठमाडौंको बुढानिलकण्ठ-३ गोल्फुटारमा सोमबार दुधको गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकल चालक बुढानिलकण्ठ, चपलीका २१ बर्षीय अमिर घिमिरे रहेका छन् । दुर्घटनामा गम्भिर घाइते भएका घिमिरेको उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडि सवार २६ बर्षीय राजेन्द्र घिमिरे र १४ बर्षीय राजिव घिमिरेको भने शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुध बोकेको बा३ख ७१० नम्बरको मिनीट्रकले घिमिरे सवार रहेको बा३४प ७८८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्कर दिने मिनि ट्रक र चालकलाई महानगरीय प्रहरी बृत महाराजगंजले नियन्त्रणमा लिएको छ ।
यसैगरी काठमाडौंको बनस्थली ढुङ्गेधारा सडक खण्डमा गएराती बलेरो जीपको ठक्करबाट मोटरसाइकलमा सवार २ जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक बनस्थली बस्दै आएका नुवाकोट, काउले-१ का ३५ बर्षीय जितमान तामाङ र पछाडि सवार २२ बर्षिया शुशिला तामाङ छन् । घाइते दुवैको बनस्थलीस्थित ओम साइबाबा मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गएराती साढे ९ बजे नम्बर नखुलेको सेतो बलेरो जीपले तामाङद्वय सवार बा६३प ५८१६ नम्बरको मोटरसाइकललार्इ ठक्कर दिएको थियो । दुर्घटना पश्चात बलेरोसहित फरार चालकको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । – इमेजखबरमा समाचार छ ।