२५ दिनलाई खुलेको कोरला नाका १६ दिनमै बन्द

चीन र
नेपालबीच भएको सहमति अनुसार
, २५ दिनलाई खुलेको कोरला नाका चीनले एकतर्फी रुपमा १६ दिनमै बन्द गरिदिएको छ ।
सुरक्षाको कारण देखाएर किनमेलका लागि लागेको व्यापारिक मेला बिहीबारदेखि पूर्ण
रुपमा बन्द भएको छ । आजै साँझ ५ बजेदेखि चीनतर्फको मुलगेटमा ताला लाग्नेछ ।

 

असार १
गतेदेखि चीनतर्फ लागेको व्यापारिक मेलाका लागि २५ दिनलाई सिमाना खुल्ला गर्ने
भनिएको थियो । नेपालीलाई २५ दिन अबधिभर कुनै भिषा आवश्यक नपर्ने गरि नाका खुला
गरिएको थियो । यो विषयमा जेठमै दुवै तर्फका सिमा प्रसाशनका अधिकारी
, स्थानीय व्यापारी र सुरक्षाकर्मीबीच मौखिक सहमति भएको थियो । 

उक्त सहमतिको आधारमा गत वर्ष एक साता मात्र
लाग्ने मेला अबधि बढाएर यसपाली २५ दिनलाई पुर्‍याइएको थियो । तर
, दलाई लामाको तस्बिर टाँसेका व्यक्ति र भारतीयमूलका केही मानिसको प्रवेश गरेको भन्दै चिनियाँ सुरक्षा अधिकारीले ९ दिन अगावै
सिमाना बन्द गरिदिएको व्यापारीहरुले जनाएका छन् ।
 

दलाई लामालाई यस क्षेत्रमा धर्म गुरुको रुपमा
श्रद्धा गर्छन् । तर
, चिनियाँ अधिकारीहरुले लामाको चेला वा अनुयायी
हो भन्ने जानकारी पाउने वित्तिकै सिमाना प्रवेश गर्न दिँदैनन् । सिमानाबाट ७ किमी
चीन तर्फ समथर भूभागमा मेला लागेका थियो । यहाँको ढुंग्वासेन बजार भन्दा केही वर
लागेको मेलामा स्थानीयले १६ दिनदेखि आवश्यक सामान खरिद गर्दै आएका थिए ।
 

छिट्टै सिमाना बन्द भएपछि व्यापारिक कारोबार
खासै भएन । केहीले २५ गतेसम्म मेला लाग्छ भनेर पर्खिए
, तर १६ गते देखि नै बन्द गर्दा उनीहरु निरास बनेका थिए । हामीलाई कुनै कारण
नभनीकनै सिमाना बन्द गरिदिएको लोमान्थाङका गाविस सचिव ज्ञानेन्द्र विष्टले बताए । खै
के कारणले बन्द गरियो
, केहि जानकारी नै पाउन सकिएन, उनले भने । 

किनमेलमा स्थानीयको उत्साह भएपनि धेरै
कारोबार भने हुन सकेन । नेपाल तर्फको सडक खराब भएको हुँदा ठूला व्यापारीहरु कोरला
आउन नसकेको भन्सार कार्यालयले जनाएको छ । चिनियाँ सुरक्षा अधिकारीले सुरक्षामा
कडाई गर्न थालेपछि एक साता मात्र किनमेल हुन पायो ।
 

त्यसपछि हरेक व्यक्तिलाई चीनका प्रहरीले
खानतलासी गर्न थालेपछि नेपालबाट जानेको संख्यामा निकै कमी भयो । चीनले यो नाकालाई
सुरक्षा संम्वेदनशील नाका घोषणा गरेर ३ महिनादेखि चिनियाँ सशस्त्र प्रहरी तैनाथ गरेको
छ । तर
, नेपालतर्फ भने सिमामा कुनै सुरक्षाकर्मीको
उपस्थिती छैन ।
कान्तिपुरमा समाचार छ