भारतमा नेपाली मजदूरहरुमाथि कुटपिटका साथै अमानवीय व्यवहार

धनवीर पुन मगर 
नयाँ दिल्ली । भारतको राजधानी नजिकै रहेको गुडगावांमा फेरी नेपाली मजदूरहरुले कुटपीट र अमानवीय व्यवहार खेप्नु परेको छ । यसभन्दा ६ महिना पहिला पनि गुडगावांमा नेपाली श्रमिक केशव गमाल मगरमाथि भएको कुटपिट र दूव्र्यवहारबाट आहात भई आत्महत्या गर्न पुगेको घटना सेलाउन नपाउदै यो घटना दोहरीएको छ । 
१२ जुलाईका २०१६ का दिन गुडगावां सेक्टर २५ वानी स्वायर मोलस्थित थाईची रेस्टुरेन्टमा कार्यरत ११ नेपाली श्रमिकहरु माथि होटल मालिक र पुलिस प्रशासनको मिलिभगतमा कुटपीटका साथै दुव्र्यवहार गरिएको पिडीतहरु बताउ छन् । तीनजना श्रमिक माथि अत्यन्तै गम्भीर प्रकारले कुटपीट गरिएको पीडित एकबहादुर सुनारले बताए । 
सुनारका अनुसार तीन जनालाई अत्यन्तै अमानवीय प्रकारले कुटपीट गरिएको र बा आठ जनालाई कुखुर (मुर्गा) बनाएर घण्टौं शारिरीक यातना दिइएको थियो । जो सम्पूर्ण प्रकारले अमानवीय व्यवहार हो । गुडगावांको सेक्टर ५० स्थित रहेको पुलीस ठानामा सम्पूर्ण नेपाली श्रमिकहरुलाई लगी उक्त दुव्र्यवहार गरिएको थियो ।
  होटल मालिक र पुलीसद्वारा गरिएको दूव्र्यवहारबाट पीडितहरुमा दाङ काभ्रेका एकबहादुर सुनार, संदिप सुनार, मदन सुवेदी, नेमराज विश्वकर्मा, विष्णु सुनार, लक्ष्मीपुरका छवि विश्वकर्मा, केशव काफ्ले, विक्रम विष्ट, लोहारपानीका इश्वर घर्ती, अर्घाखांची नुवाकोटका दिनेश घर्ती र प्यूठान कोचिबाङका महेश्वर परियार हुन् । एकबहादुर सुनार, इश्वर घर्ती र संदिप सुनारलाई मरणासन्न हुने गरी कुटपीट गरिएको थियो । 
एकबहादुर सुनारका अनुसार थाई ची रेस्टुरेन्टमा कार्यरत नेपाली श्रमिकहरुलाई समयमा तलब नदिइएकोले उनीहरुलाई दैनिक जिवीका उर्पाजन, कोठा भाडा आदीका लागि समस्या भइरहेको थियो । त्यसैले उनीहरुले नोकरी छोडन बाध्य भएका थिए । नोकरी नगर्ने नै भएपछि होटल मालिकले पुलीस लगाएर नेपाली श्रमिकहरुलाई कुटपीट गरेको थियो । एकबहादुर सुनारका अनुसार आफूहरुले एक महिनाको तलब र आफ्नो पासपोर्ट समेत होटेल मालिकले नदिएको बताएका छन् ।
घटनाको जानकारी भारतस्थित श्रमिक नेपालीहरुको छाता संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई प्राप्त हुना साथ केन्द्रीय उपाध्यक्ष कपील खनालको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले घटनाको छानविन गरेको थियो । छानवीन पश्चात प्रतिनिधि मण्डलले दोषीहरुलाई कार्यवाही र पीडितहरुलाई उचित मुआवजाको माग गर्दै गुडगावां जिल्ला अधिकारीलाई ज्ञापन पत्र सुम्पेको छ । जिल्ला अधिकारीलाई ज्ञापन पत्र हस्तान्तरण पश्चात कपिल खनाल सहितको प्रतिनिधि मण्डलले पत्रकार सम्मेलन सम्पन्न पारेको छ । 
व्यापक पत्रकारहरुको उपस्थिति बीच सम्पन्न उक्त सम्मेलनमा खनालले भारत प्रवासमा नेपाली श्रमिकहरु माथि यस्ता प्रकारका तमाम खाले घटनाहरु घट्दै आइरहेको र लगातार नेपाल सरकार समक्ष ज्यूधनको सुरक्षामा ध्यान दिनु पर्नेमा जोड दिंदै आएको बताउनु भयो । खनालको नृतृत्वमा रहेको सो प्रतिनिधि मण्डलले दिल्लीस्थित लेवर कोर्टमा केस दायर समेत गरेको बताइएको छ । 
प्रतिनिधि मण्डलमा पश्चिमोत्तर क्षेत्रीय समितिका सचिव- वि.शंकर पराजुली, सदस्य-सुरेशकुमार पाण्डे, रणबहादुर थापा, गुडगावां नगर अध्यक्ष- सुरजकुमार गतराज, सचिव-गोपाल भट्टराई, सदस्य- शेरबहादुर थापा, पीडित ईश्वरबहादुर घर्ती र एकबहादुर सुनार हुनुहुन्थ्यो ।