अर्घाखाँचीभर चितुवा आक्रमणका घटनाहरु बढे ! चितुवा बस्तीमा आए के गर्ने ? आक्रमणबाट कसरी बच्ने ?

पछिल्लो समय अर्घाखाँचीभर चितुवाको आक्रमणका घटनाहरु बढेका छन् । गत हप्ता अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थित दुवार, कुर, गच्छेखोला माथि डडाटीमा २ बालिकाको चितुवाको आक्रमणबाट मृत्‍यु भएको छ । 
चितुवाले त्यत्तिकै मानिसलाई आक्रमण गर्दैन । जंगलमै बस्ने चितुवा यदि मानव वस्तीमा आयो भने निम्न कुराहरुमा ध्यान दिनुस् जसबाट तपाईं आक्रमणबाट पनि जोगिनु हुन्छ र चितुवा पनि जोगिन्छ ।
१. तपाईंहरुले देख्दा चितुवाजस्तो लागेको जनावर चितुवा नहुन पनि सक्छ । जंगली बिरालो पनि सानोतिनो चितुवाजस्तै हुन्छ । त्यसैले जनावरको पहिचान गर्नुपर्छ ।
२. चितुवा आफैंमा हिंस्रक हुँदैन । चितुवा मानव वस्तीमा छिर्ने पनि शिकार खोज्नका लागि होइन । त्यसैले तपाईंको टोलमा चितुवा प्रवेश गरेको छ भने भीड जम्मा हुने, होहल्ला गर्ने नगर्नुस् । उसले असुरक्षा महशुस गर्‍यो भनेमात्र आक्रमण गर्न सक्छ ।
३. घर वरपर झाडी नबनाउनुहोस् । वरपरका रुखहरु गोडेर सफा बनाउनुस् । उज्यालो स्थान चितुवाले मन नपराउने भएकाले घर वरपर सफा र उज्यालो बनाउँदा चितुवा प्रवेश गर्ने सम्भावना कम रहन्छ ।
४. यदि टोल छिमेकमा चितुवा प्रवेश गरेको छ भने भीड नगरी आफू सुरक्षित स्थानमा पुगेर नजिकैको प्रहरी कार्यालय, चिडियाखाना वा प्रहरीको १०० नम्बरमा फोन गर्नुहोस् ।
५. रातिको समयमा चितुवा भेटियो भने उसलाई लठ्याउने औषधि प्रयोग गर्न गाह्रो हुन्छ । त्यसैले आफू घरभित्रै सुरक्षित रहि बिहानसम्म कुर्नुस् । बिहानसम्म चितुवा भागिसकेको हुनसक्छ ।
६. चितुवा नेपालको संरक्षित जनावर हो । यसलाई हानी नोक्सानी पुर्‍याउनु दण्डनीय कार्य हो । साथै चितुवाले स्थानीय पर्यावरणीय चक्रमा ठूलो महत्व राख्छ त्यसैले यसको बिनाश होइन संरक्षणमा जोड दिनुहोस् ।
– स्रोत: बिभिन्न अन्लाईन मिडियाबाट 

अन्य समाचारहरु