कृष्ण खनाल
बुटवल । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको ‘प्रधानमन्त्री कृषि आधुनिककरण परयोजना’ अन्र्तगत कञ्चन गाउ पालिका-१ प्रगतिटोल गजेडीमा रहेको ‘स्पीन्जर च्याउ पकेट’ स्पीन्जर च्याउ फर्मलाई विहिवार एक कार्यक्रमको आयोजना गरी मेसिनबाट च्याउको बल बनाउने मेसिन प्रदान गरिएको छ ।
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको १ लाख ६५ हजार र फर्मको १ लाख ६५ हजार गरी कुल ३ लाख ३० हजार रुपैयाँ लागतमा उक्त मेसिन पकेट क्षेत्र सञ्चालक समितिका संयोजक गंगाधर शर्मालाई जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाले प्रदान गरे ।
मेसिन हस्तान्तरण कार्यक्रममा बोल्दै बरिष्ठ कृषि विकास अधिकृत सापकोटाले रुपन्देही कृषि क्षेत्रको यन्त्रीकरणमा विस्तारै अगाडी बढ्दै गएको जानकारी दिए । उनले पछिलो समयमा कृषि क्षेत्रमा काम गर्ने किसानहरुको संख्या समेत विस्तारै अभाव हुदै जानुको साथै लागत समेत बढ्ने भएकोले यान्त्रीकरणमा जानुको विकल्प नभएको उनको तर्क रहेको थियो । उनले भने- ‘अव किसानले आफ्नो लागत कम गरी बढि प्रतिफल लिने हो भने यन्त्रीकरणको विकल्प छैन ।
कार्यक्रममा बोल्दै े ‘स्पीन्जर च्याउ पकेट क्षेत्र’ सञ्चालक समितिका संयोजक तथा फर्म सञ्चालक गंगाधर शर्माले किसानहरु पछिल्लो समयमा कामदारका अभावको साथै बढि श्रम चुकाउनु पर्ने अवस्था आएको भन्दै यन्त्रीकरणले यसमा थप टेवा पुग्ने धारणा राखे ।
गजेडी कृषि सेवा केन्द्र प्रमुख शिवलाल घिमिरेको स्वागतमा तथा फर्मका प्रबन्ध सञ्चालक राजन शर्माको सञ्चालनमा भएको कार्यक्रममा जनता प्राविधिक शिक्षालय छपियाका प्रध्यनाध्यापक नारायण शर्मा, मातृभुमी कृषि सहकारी संस्थाका सचिव टिका काउचा, प्रतिविम्व कृषि सहकारी संस्थाका सल्लाहकार प्रेम राना, स्पीन्जर च्याउ फर्मका प्रबन्धक राजन शर्मा लगायतले बोलेका थिए । एक मिनेटमा ४ वटा सम्म च्याउको बल बनाउन सकिने क्षमता रहेको यो मेसिनबाट सही अनुपातमा विउ राख्नुको साथै कार्य सम्पादनमा समेत सरलता आउने गर्दछ ।