मुख्य राजनीतिक दलहरुले संवैधानिक प्रावधानविपरीत २४० निर्वाचन क्षेत्र कायम राख्न छलफल थाले
आषाढ़ २९ गते, २०७४ मा प्रकाशित
मुख्य राजनीतिक दलहरुले संवैधानिक प्रावधानविपरीत २४० निर्वाचन क्षेत्र कायम राख्न छलफल थालेका छन् ।
क्षेत्र निर्धारण आयोग गठन गरेर संविधानअनुसार १६५ निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्नेबेला मुख्य दलहरु भने हालकै निर्वाचन क्षेत्र कायम राख्ने तयारीमा जुटेका हुन् ।
निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरी निर्वाचन क्षेत्र तोकेर प्रदेशसभा र संघीय संसदको निर्वाचन गर्नुपर्नेबेला मुख्य दलहरुले हालकै निर्वाचन क्षेत्र कायम राख्न छलफल थालेका छन् ।
त्यसै त निर्वाचन क्षेत्र निर्धारणका लागि आयोग गठन गर्न विलम्ब भइसकेको छ । प्रधानमन्त्रीसहित मुख्य दलका नेताहरु क्षेत्र निर्धारणको झन्झट र विवादबाट उम्कन हालकै २४० निर्वाचन क्षेत्र कायम राख्न तम्सिएका हुन् ।
क्षेत्र निर्धारण गर्दा आफ्नो निर्वाचन क्षेत्र सुरक्षित राख्न दलहरुबीच होडबाजी चल्ने र यसले विवाद उत्पन्न हुने निश्चित छ ।
संविधानमा १६५ निर्वाचन क्षेत्र कायम हुने स्पस्ट लेखिएकाले हालकै निर्वाचन क्षेत्र कायम राख्नका लागि पनि दुई तिहाइ बहुमतवाट संविधान संशोधन गर्नुपर्नेछ ।
संविधान संशोधन गरेर हालकै निर्वाचन क्षेत्र कायम राखिए मुलुकको लागि दुर्भाग्य सावित हुने संविधानविद् हरिहर दाहालको भनाइ छ ।
दुईओटा संविधानसभामा ६०१ सभासद व्यवस्थापनको अनुभवसमेतका आधारमा संविधानले संघीय संसदलाई छरितो बनाउने र बढीमा २५ सदस्यीय चुस्त मन्त्रिपरिषद हुने संवैधानिक व्यवस्था छ ।
तर, अहिले त्यही प्रावधानविपरीतको बहस राजनीतिक दलका बैठकहरुमा छिरेको छ । संविधानविद दाहाल दलहरु आफ्नो अभिष्ट पूरा गर्नका लागि संविधानलाई नै कुल्चन उद्दत रहेको बताउँछन् ।
संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको प्रत्यक्षतर्फको सिट संख्या २४० कायम गर्ने हो भने यो अनुपातमा समानुपातिक सिट संख्या थपिन पुग्छ ।
एक प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई प्रदेशसभाको दुई क्षेत्र निर्धारण गर्ने, संघीय संसदमाजस्तै प्रदेशसभामा पनि प्रत्यक्ष र समानुपातिक सिटको अनुपात ६०/४० हुने संवैधानिक व्यवस्था छ ।
त्यसैले तत्कालको सजिलोका लागि संविधान संशोधन गरी प्रतिनिधिसभाको प्रत्यक्षतर्फको सिट संख्या २४० कायम राखिए संघीय संसद र सात प्रदेशका प्रदेशसभाका सांसदहरुको संख्यामात्रै १ हजार २ सय ५९ पुग्नेछ ।
यस्तै, संवैधानिक व्यवस्था नभएपनि दलहरु आफ्नो सजिलोका लागि राष्ट्रियसभामा रहने ६५ सदस्य संख्या बढाउन सक्छन् ।
यसले राज्यकोषमा अर्वौको आर्थिक भारमात्र थपिने नभइ संघीय संसद, प्रदेश संसद र राष्ट्रियसभामासमेत अहिलेकोजस्तै गोलमालको स्थिति हुने निश्चित छ । इमेजखबरमा समाचार छ ।