डिआरजी सुमन
अर्घाँखाँची डटकम् / लमजुङ । नेपाली संस्कृति सुरक्षा परिषदका महासचिव वीरेन्द्र राणालाई संस्कृति दुतको उपाधिबाट सम्मान गरिएको छ । ठाडोभाका लोककला प्रतिष्ठान नेपाल लमजुङले आफ्नो तेस्रो स्थापना दिवसका अवसरमा राणालाई त्यस्तो सम्मान गरेको हो ।
संविधान सभाका सदस्य जमिन्द्रमान घले, वरिष्ठ समाजसेवी नरेन्द्र ढुंगाना, अर्थ्ली आमाविका प्रिन्सिपल उद्धव घिमिरे र आयोजक संस्थाका अध्यक्ष नवराज पहाडीले संयुक्त रूपमा राणालाई सम्मान गर्नु भएको हो । उक्त सम्मान पत्रमा नेपाली लोक संस्कृतिको बृहत्तर भावना, मर्म, महत्व र आवश्यकतालाई आत्मसात गर्नु भई आफ्नो जीवनमा लागू गरी यसको श्रीबृद्धिमा पछिल्ला दुई दशकदेखि अनवरत रूपमा गरी आउनु भएको योगदानको उच्च कदर गर्दै यहाँलाई ‘संस्कृति दूत’को रुपमा सम्मान पत्र समर्पण गर्दछौँ भनिएको छ ।
पूर्वसांसद जमिन्द्रमान घलेले नेपालमा बसेर हामीले गर्न नसकेको वा हाम्रो ध्यान पुग्न नसकेको विषयमा असममा बसेर राणासहितका नेपाली जातिले नेपाली संस्कृतिको संरक्षणका क्षेत्रमा गर्नु भएको कार्य अनुकरणीय छ भन्नु भयो । यस्तो अनुपम सम्पदाका रूपमा रहेको लोकसंस्कृति लोप हुन्छ भन्ने चिन्ता गरेर राज्यले गर्नु पर्ने काम ठाडोभाका लोककला प्रतिष्ठान नेपालले गरेर राज्यलाई गुण लगाएको उहाँले बताउनु भयो । उहाँले प्रतिष्ठानको यो अभियान निरन्तर रहोस् भन्ने कामना समेत गर्नु भयो ।

सो अवसरमा सम्मानित व्यक्तित्व राणाले आफ्नो मन्तव्यका क्रममा नेपाली जाति महान भएको तथ्यमा प्रकाश पार्नु हुँदै विशाल नेपाली संस्कृतिको ध्वजा विश्वभर अनुट रहनु पर्छ भन्ने विचार व्यक्त गर्नु भयो । उहाँले नेपाललाई विश्वकै श्रेष्ठ र सर्वोच्च मुकुट हो भन्ने तथ्य प्रस्तुत गर्नु भएको थियो । उहाँले शिरमा लगाउने टोपी सगरमाथा, पशुपतिनाथ, सीता माता, व्यास, बुद्धको पवित्र थलो नेपाल भएको भन्न्ु भयो । उहाँले विश्वमा छरप्रष्ट भएर रहेका नेपालीहरू एक भएर नेपाली संस्कार, संस्कृति परम्परा, भाषा साहित्यलाई संरक्षण र संवद्र्धन गर्नु पर्छ भन्ने उल्लेख गर्नुभयो । उहाँले त्यस्तो काम गर्नका लागि एक अन्तराष्ट्रियस्तरको संस्था र कार्यक्रमको जरुरी छ भन्नुभयो । शिक्षक र विद्यार्थी के कस्तो हुनुपर्छ भन्ने उदाहरण राणाले प्रस्तुत गर्दैै गर्नु हुँदा तालीको गडगडाहटले हल गुञ्जायमान भएको थियो ।
उक्त कार्यक्रममा पाणिनी कलाकार कल्याणकारी समाज अर्घाखाँचीका संरक्षक डिआरजी सुमनले नेपाली कला संस्कृतिको जगेर्ना गर्नु युवाहरूको प्रमुख दायित्व हो भन्नु भयो, जसरी पाणिनी ऋषिले पाणिनी दहमा नेपाली व्याकरणको पूर्ण रुप दिने काम गर्नु भयो त्यसबाट छर्लङ्ग हुन्छ कि नेपाल साहित्यमा धेरै अघि छ भन्नुभयो । उहाँले कला साहित्य संगीतको माध्यमबाट विश्वमा नयाँ क्रान्ति ल्याउने उद्घोष गर्नु भयो ।
सो अवसरमा अर्थ्ली आमाविका प्रिन्सिपल उद्धव घिमिरेले यो कार्यक्रम आफ्नो विद्यायलमा गर्ने अवसर पाएकोमा गौरवको अनुभव भएको बताउनु भयो ।
जिल्लामा मासिक रचना वाचन गरी आएको अन्तरङ्ग सहआयोजक रहेको उक्त कार्यक्रममा कविहरू तेजनारायण अधिकारी, अमृता असिम, सुदीप न्यौपाने, वन्धुराज अधिकारी, स्वेता घिमिरे, संगम नेपाली सहितले आ– आफ्नो रचना वाचन गर्नु भएको थियो भने लालुमाया गुरुङ र सुधा ढकालले गीत गाउनु भएको थियो ।
सो अवसरमा ९ बुँदे घोषणा पत्र जारी गर्दै आउँदा दिनमा सार्क राष्ट्रस्तरको कार्यक्रम सञ्चालन गर्ने उदघोषण गरिएको कार्यक्रमका सहभागीले बताएका छन् ।
ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीको अध्यक्षतामा गरिएको कार्यक्रममा स्वागत कोषाध्यक्ष अमृता असीम घिमिरेले र सञ्चालन संस्थाका उपाध्यक्ष लालुमाया गुरुङले गर्नु भएको थियो ।