बैंकले ब्याज माग्न थालेपछि व्यवसायी तनावमा

भैरहवा-कोरोना भाइरस संक्रमणबाट जोगिन देशभर लकडाउन भएको र उद्योग प्रतिष्ठान, होटल व्यबसाय, बजार सबै बन्द रहेको अवस्थामा बैंकहरुले आफ्ना ऋणीहरुलाई ब्याज र साँवाको किस्ता बुझाउन आउन भन्दै फोन गर्न थालेपछि भैरहवा क्षेत्रका साना ठूला सबै व्यवसायी मानसिक तनाबमा परेका छन् ।

यस्तो असहज परिस्थितिमा र सरकारले चैत्र महिनामा बुझाउनु पर्ने साँवा किस्ता तिर्ने समय असारमा बुझाउने निर्णय गर्दा पनि व्यवसायीलाई त्रासमा पार्ने गरी बैंक ब्याज बुझाउन आउनुस भन्दै फोन गरी मानसिक तनाव दिन थालेको उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण भण्डारीले बताए । “दुई सातादेखि सबै बन्द छ, यस्तो बेलामा पनि ब्याज बुझाउन आउनु भन्दै फोन गरेर मानसिक तनाव दिने काम भएको छ ।” भण्डारीले भने ।

लुम्बिनीका पर्यटन तथा होटल व्यवसायी प्रविन शाक्यले आफूलाई ब्याज तिर्न आउन भन्दै फोन गरेको बताए । आफू आउन नसक्ने भए जहाँ बोलाउनु हुन्छ, त्यहा पैसा या चेक लिन आउँछौ भनेर बैंक कर्मचारीले मानसिक तनाब दिएको बताए ।

“होटल बन्द छ, अहिले कहाँबाट तिर्ने किस्ता, त्यसमा पनि सरकारले चैतको किस्ता असारमा तिर्न सकिने बताइसकेको छ ।” शाक्यले भने, “मेरो त्रैमासिक किस्ता हो, चैतमा बुझाउने तर माघ र फागुनमा अहिले नबुझाए जरीबाना लाग्ने भन्दै त्रास देखाएका छन् ।”
सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव नेत्रप्रसाद आचार्यले आफूलाई व्यवसायीले फोन गरेर बैंकले किस्ता जम्मा गर्न दवाव दिएको बताए ।

एसियन कंक्रिटोको प्रबन्ध निर्देशक मनिष रुंगटाले पनि किस्ता तिर्न आउने भनेर मोबाइलमा सन्देश आएको र यो बन्दाबन्दीको समयमा सबै उद्योग, कलकारखाना र बजार बन्द हुँदा ब्याज सावा तिर्न बोलाउनु दुःखद भएको जनाए ।

व्यवसायीहरु बैंकको नाम लिन भने डराएका छन् । अहिले नाम लिए भविश्यमा कर्जा नदिने अथवा लिएको कर्जामा समेत यो भएन त्यो भएन भनेर दुख दिने कारण देखाउँदै नाम भन्न हिचकिचाएका छन् ।

सिद्धार्थ होटल संघ नेपाल(सान)का अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले यस्तो असहज समय र राष्ट्र बैंकले पनि चैतमा बुझाउनु पर्ने किस्ता असारमा बुझाउन सकिने निर्णय गरीसक्दा पनि त्रास फैलाउने गरी किस्ता किस्ता भन्दै व्यवसायीलाई बैंकले फोन गर्नु दुखद भएको बताए ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले चैत महिनामा बुझाउनु पर्ने मासिक अथवा त्रैमासिक किस्ता असारमा तिर्न सक्ने गरी निर्णय भइसकेकाले साँवा ब्याज बुझाउन दवाव दिने बैंक तथा वित्तीय संस्थालाई कारवाही गर्ने बताए ।

 
स्रोत- कारोबार