कोरोना भाइरसको अहिलेको महामारीमा समग्र विश्व नै आक्रान्त बनेको छ । आर्थिक गतिविधि प्राय ठप्प छन् । उद्योग, कलकारखाना, सेवा–व्यवसाय, कृषि व्यवसाय तथा अन्य क्षेत्रहरू गतिहीन भएको अवस्था छ । आज ग्रामीण विपन्न वर्ग वा गरिखाने अतिविपन्न, साना किसान समुदायलाई उनीहरूको जीवनयापन धान्न नै नसक्ने गरी प्रभाव पारेको छ । नेपालमा लघुवित्त सेवा प्रवाह गर्ने लघुवित्त वित्तीय संस्थाहरूले ग्रामीण दूरदराजमा रहेका विपन्न परिवारलाई थोरैमात्र भए पनि वित्तीय पहुँचको सेवा प्रदान गर्दै आएको कुरालाई नकार्न सकिँदैन ।
आर्थिक औजारका रूपमा ती विपन्नवर्गमा केही न केही आर्थिक क्रियाकलापमा पहुँच राख्ने लघुवित्त वित्तीय संस्थाहरूको ढोका बन्दप्रायः छ । यी लघुवित्त संस्थाहरूमा आधुनिक सूचना प्रविधि नभएकै कारणले पनि आफ्ना सदस्यहरूलाई यस विषम परिस्थितिमा आधुनिक प्रविधिमार्फत सेवा दिन सक्षम देखिँदैनन् । कोरोना संक्रमणका कारण कर्जा लिने–दिने, बचत राख्ने वा झिक्ने तथा अन्य सामाजिकलगायतका गतिविधिहरूबाट टाढा रहन बाध्य भएका ती वर्गहरूको तुलनात्मक रूपमा अन्य क्षेत्र, वर्ग वा प्रतिष्ठानभन्दा बढी प्रभावित भएको देखिन्छ ।
कोरोनाबाट कसरी प्रभावित छन् लघुवित्त संस्थाहरूय लघुवित्त वित्तीय संस्थाहरू आन्तरिक रूपमा यसअघि नै संस्था–संस्थाबीच दोहोरो ग्राहक बनाई कर्जा लगानी भएको, अधिक कर्जा भार, सहरोन्मुख केन्द्रित संजाल विस्तार, संस्था जसरी पनि नाफामा लैजाने गरी कार्य सञ्चालनको अवस्थाबाट गुज्रिरहेको सर्वविदितै छ । मुख्य रूपमा कर्जाको दोहोरोपनाबाट ग्रसित लघुवित्त संस्थाहरू कोरोना संक्रमणपश्चात् सदस्यको कर्जा भुक्तानी गर्ने क्षमतामा ह्रास आउनेछ । यसबाट वित्तीय संस्थाहरूको कर्जा अझ जोखिम हुने देखिन्छ ।मासिक बैठकको व्यवस्था, बैठकबाट बचत संकलन, ससानो कर्जा लगानी÷असुलीको व्यवस्था अथवा घरदैलो सेवाप्रवाह लघुवित्तको मौलिकता हो । समूहमा आधारित सेवालाई कोरोना संक्रमणले ढोका बन्द गरिदिएको अवस्था छ । यस अवस्थामा संस्थाका क्रियाकलापहरू सञ्चालन हुने कुरै रहेन । यसरी गहिरिएर विश्लेषण गर्दा समूह सञ्चालन नै नहुने अवस्था आएमा सामूहिक भावनाबाट विचलन आउन सक्नेछ ।
सैद्धान्तिक रूपमा लघुवित्तको मर्म सामूहिक हुने र सबैसँग उत्तिकै उत्तरदायी रहने भन्ने मान्यतालाई प्रवाहित पार्ने पो हो कि भन्ने आशंका देखाएको लघुवित्त विज्ञहरूको तर्क छ । लघुवित्त वित्तीय संस्थाहरूको उद्देश्य मुख्य रूपमा सदस्यहरूलाई वित्तीय सेवादिनु नै हो । बैंक तथा वित्तीय संस्थाहरूको जस्तो अन्य गैरबैंकिङ व्यवसाय हुने गर्दैन भए पनि अति सानो आकारमा होला । यस मानेमा लघुवित्त संस्थाहरूको आम्दानीको मुख्य स्रोत कर्जाबाट हुने ब्याज नै हो ।
कोरोना प्रभावबाट कर्जाको ब्याज आम्दानीमा संकुचन आइसकेको अवस्था छ; जसबाट राष्ट्रलाई बुझाउने संस्थागत करका साथै संस्थालाई दिगो बनाउने विविध कोषमा जाने रकममा ह्रास हुनेछ ।
यसबाट संस्थाको दिगोपनामा समेत प्रभाव पर्ने देखिन्छ ।य लघुवित्त वित्तीय संस्थाहरूको खर्च अन्य बैंक तथा वित्तीय संस्थाको तुलनामा अधिक खर्चिलो हुने सैद्धान्तिक र व्यावहारिक रूपमा प्रमाणित भइसकेको अवस्था हो । सञ्चालन खर्चमा कोरोना प्रभावकै कारणले हालको व्यवस्थामा कुनै सैद्धान्तिक निर्णय नभएमा कटौती हुने अवस्था देखिँदैन । खास गरी कर्मचारी खर्च वित्तीय संस्थाहरूको कुल खर्चको आकारमा ठूलो हुने गर्छ । यसरी हेर्दा आम्दानीमा संकुचन आउने र खर्च भने यथास्थितिमा रहने अवस्थाले गर्दा आम्दानी र खर्चको सन्तुलनमा नकारात्मक असर पर्ने आकलन गर्न सकिन्छ ।
लकडाउन लम्बिने अवस्था आएमा कर्मचारीहरूलाई बिना तलब बिदा वा आंशिक खर्च लेख्ने अवस्था नआउला भन्न सकिन्न ।लघुवित्तको अर्को पाटो हो उच्च असुली दर । कोरोना संक्रमणकका कारण कर्जाग्राहीहरूले कठिन आयको सामना गर्नुपर्ने भएकाले असुली दरमा गिरावट आउनेछ ।
यस कारण वित्तीय संस्थाको ठूलो कर्जा प्रभाग भाका नाघ्ने र सो कर्जाको अतिरिक्त कर्जा जोखिम खर्च लेखांकन गर्नुपर्ने भएकाले खर्चमा वृद्धि हुने देखिन्छ । यसले वित्तीय सन्तुलनलाई प्रभाव पार्ने निश्चित छ ।य कर्जा लगानीको आकारमा ह्रास आएका कारण लघुवित्त संस्थाहरूलाई दीर्घकालीन रूपमा आयको स्रोतमा प्रभाव पर्नेछ ।
लगानी रोकिनु भनेको कुल कर्जाको प्रभागमा संकुचन आउनु हो र यसबाट हुने ब्याज आम्दानीमा न्यूनीकरण हुने हो । यो वित्तीय संस्थाका लागि दीर्घकालीन रूपमा हुने ठूलो असर हो । लघुवित्तको अर्को मर्म सदस्यसँग निरन्तर सम्पर्क हुनु हो । कोरोनाको प्रभावका कारण लामो अवधिसम्म सदस्यहरूसँग लघुवित्त संस्थाहरूले सम्पर्क स्थापित गर्न नसक्ने अवस्था हुन सक्छ । यसो भएमा सदस्यहरू निष्क्रिय हुनुका साथै पलायन हुने सम्भावनासमेत रहने देखिन्छ ।
सदस्यहरूलाई सम्पर्क स्थापित गर्ने गतिलो औजारका रूपमा सूचना–प्रविधिको प्रयोग हो । त्यसतर्फ अधिकांश लघुवित्त संस्थाहरूको पहुँच पुग्न सकेको छैन ।य लघुवित्त संस्थाहरूले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट विपन्नवर्ग कर्जा सापट लिएको हुन्छ । उक्त कर्जाको ब्याजदर उच्च रहँदै आएको छ ।
सदस्यहरूबाट कर्जा असुली नभएकै कारण समय सीमाभित्र यस प्रकारको कर्जा भुक्तानी गर्न लघुवित्त संस्थाहरूलाई कठिनाइ हुनेछ । एकातर्फ लिएको कर्जा सापटको उच्च ब्याजदर छ भने तिर्न सक्ने क्षमतामा ह्रास आएमा बैंक वित्तीय संस्थाहरूबाट पुनःकर्जा सापट पाउन रोक लाग्ने हुन सक्छ । यसबाट लघुवित्त संस्थाहरूको पुँजीको स्रोतमा समेत गिरावट आउने अनुमान गर्न सकिन्छ ।य नेपालबाट वैदेशिक रोजगारीमा जाने झन्डै ५० लाख जनशक्तिको अधिकांश संख्यामा रोजगारी धरापमा परेको छ । यसले विप्रेषण आप्रवाहमा संकुचन आइसकेको अवस्था हो ।
लघुवित्त कारोबारमा संलग्न परिवारका लगभग ६० प्रतिशत संख्या वैदेशिक रोजगारीमा रहेको अनुमान छ । यसबाट संस्थाहरूको कर्जा असुलीमा प्रत्यक्ष असर पर्न जाने र समग्र देशको आर्थिक वृद्धिदरमा नकारात्मक असर पर्न जाने अनुमान छ । यदि वैदेशिक रोजगारीको निरन्तरता वा उक्त जनशक्तिलाई अन्य ससाना उद्योग, व्यवसाय वा सीपमूलक पेसामा संलग्न गराउन नसकिएमा कर्जा उपभोग गरेका सदस्यहरूबाट कर्जा असुली गर्ने वैकल्पिक उपाय देखिँदैन ।
लघुवित्त संस्थाहरूले सदस्यहरूमा बिनाधितोकर्जा प्रवाह गर्नु अर्को मुख्य उद्देश्य हो । बिनाधितो कर्जा जोखिमयुक्त कर्जा हो । यो एउटा चक्र र सामूहिक उत्तरदायित्वमा बाँधिएको हुन्छ । कोरोना संक्रमणले सामाजिक दूरी ल्याएको अहिलेकोे अवस्था हो ।
लघुवित्तको यस सैद्धान्तिक पक्षलाई महामारीले नराम्ररी प्रहार गरेको छ । सामाजिक भावनाको क्रमभङ्ग भएको यस परिस्थितिमा पुनः सामाजिकीकरण हुन समय लाग्न सक्नेछ । यसो हुन गएमा लघुवित्तको मान्यतामा नै प्रश्न उठ्ने हो कि भन्ने चिन्ता लघुवित्तकर्मीहरूमा छाएको देखिन्छ ।
किसानहरूले सञ्चालन गरेका ससाना आय आर्जनका क्रियाकलापहरूबाट हुने आम्दानीमा कोरोना संक्रमणका कारण रोकावट आएको छ । कर्जा लिई यसरी सञ्चालन भएका परियोजनाहरू ठप्प हुँदा किसान सदस्य ठूलो मारमा परेका छन् । रोकावट भएका ससाना परियोजनाहरूलाई लघुवित्त वित्तीय संस्थाबाट राहतको सम्बोधन हुन नसके ऋणीहरू अझ ऋणको बोझमा पर्नेछन् र परियोजनाहरू असफल हुन सक्ने अवस्था नआउला भन्न सकिन्न ।
यसबाट वित्तीय संस्थालाई निकै घाटा बेहोर्नुपर्ने हुन सक्छ ।य नेपालमा हाल सञ्चालनमा रहेका लघुवित्त वित्तीय संस्थाहरूलाई एकआपसमा मर्जर वा प्राप्ति गर्ने नीति केन्द्रीय बैंकको रहेको छ ।
कोरोना संक्रमण असरका कारण यस नीतिमा रोकावट आउन सक्ने अनुमान छ । किनभने लघुवित्त संस्थाहरूमा पर्ने असरले संस्थाहरूमा पुनर्ताजगी नआएसम्म एकआपसमा समझदारी कायम गर्न कठिनाइ हुने देखिन्छ । यद्यपि संख्यात्मक रूपमा लघुवित्त संस्थाहरूको उपस्थिति ठूलो छ र संस्थाहरू अझै पनि अतिविपन्न वर्गलाई समेट्ने गरी दुर्गममा जान नसकेको अवस्थामा यस नीतिलाई प्रभावकारी बनाउन जरुरी भने देखिन्छ ।
यसरी समग्र अर्थव्यवस्थालाई दूरगामी प्रभाव पार्दै कोरोना भाइरसको संक्रमणले विश्वका २ सयभन्दा बढी देशको वित्तीय अवस्थामा संकुचन आउने आकलन गरिएको छ ।
नेपालमा पनि यस महामारीबाट विपन्न साना किसानहरूको जीविकोपार्जनमा प्रत्यक्ष प्रभाव पारेकोे छ । यसबाट खासगरी विपन्न परिवारलाई राहत हुने गरी वित्तीय संस्थाहरूले विविध किसिमका अल्पकालीन तथा दीर्घकालीन योजना, नीति समयभित्र ल्याई उचित सम्बोधन गर्न सके मात्र लघुवित्र वित्तीय संस्थाहरूको दिगोपना रहने र पुनः सक्रिय रूपमा आफ्ना सदस्यहरूलाई सेवा विस्तार गर्न सहज हुनेछ ।
– बलराम पौडेल