यूएईबाट १६८ नेपाली लिएर आयो एयर अरेबियाको जहाज

काठमाडौं, कोरोना भाइरसको महामारीको संक्रमण रोक्न गरिएको लकडाउनका कारण यूएईमा रोकिएका १६८ जना नेपाली नागरिक लिएर आएको एअर अरेबियाको विमान काठमाडौंमा अवतरण गरेको छ ।

सारजाह विमानस्थलबाट शुक्रबार आएको एयर अरेवियाको जी ९ १७५१ नम्बरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

इजादा फ्यासिलिटी म्यानेजमेन्टमा कार्यरत ६७, टान्स गार्ड सेक्युरिटी कम्पनीमा कार्यरत ७९ जना र अरु बाँकी कम्पनीमा कार्यरत व्यक्तिहरु रहेको जनाइएको छ ।

अहिले आएकाहरु पहिले तय भएको सूची अनुसारका व्यक्तिहरु नभएको सैनिक स्रोतको भनाइ छ । यसअघि गर्भवतीसहित अफ्ठ्यारामा परेकाहरुलाई ल्याउने भनिएकोमा प्राविधिक कारण देखाउँदै उनीहरुलाई यूएईमै रोकिएको जनाइएको छ ।

उनीहरुलाई अब स्वास्थ्य जाँच गरी प्रदेशगत रुपमा काठमाडौं, भक्तपुर र ललितपुरमा सेनाले तयार पारेका ९ वटा होल्डिङ सेन्टर राखिने जनाइएको छ । विमानस्थल कार्यालयका अनुसार विमानमा एकक शिशु, एक शवसहित १६८ जना ल्याइएको हो ।

यसअघि शुक्रबारै म्यानमारबाट पनि २६ जना नेपालीको उद्धार गरेर ल्याइएको थियो । उनीहरुलाई लिएर म्यानमारको सेनाको विशेष विमान काठमाडौं आएको थियो । म्यानमारबाट आएकालाई बसुन्धारास्थित यती पार्टी प्यालेसको होल्डिङ सेन्टरमा राखिएको छ ।