कुलेन्द्र बिक
नेपालगञ्ज । नेपालगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा अधिक राजश्व सङ्कलन गरेको छ ।
चालु आर्थिक वर्षको दुई महिनामा उत्साहजनक राजश्व सङ्कलन गर्न सफल भएको छ ।
कोरोना महामारी सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीका कारण गत आर्थिक वर्षमा राजश्व घाटा व्यहोरेको नेपालगञ्ज भन्सार कार्यालयलले चालु आवको साउन र भदौ महिनामा भने लक्ष्यभन्दा अधिक राजश्व सङ्कलन गरेको छ । चालु आवको पहिलो महिनामा नेपालगञ्ज भन्सार कार्यालयले रु. एक अर्ब ६८ करोड राजश्व सङ्कलन गरेको प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार साउन महिनामा रु. ९४ करोड ७५ लाख छ हजार राजश्व उठाउने लक्ष्य राखिएकामा लक्ष्य भन्दा रु. ७३ करोड २५ लाख अर्थात् ५६ प्रतिशत भन्दा बढी राजश्व सङ्कलन भएको छ । भदौ महिनामा राजश्व सङ्कलन लक्ष्य रु. एक अर्ब छ करोड रहेकामा लक्ष्यभन्दा अधिक रु. एक अर्ब ४६ करोड राजश्व सङ्कलन भएको छ ।
नेपालगञ्ज भन्सार हुँदै औद्योगिक कच्चा पदार्थका साथै खाद्यान्न, औषधि तथा अत्यावश्यक सामग्री भित्रिने गरेका छन् ।