लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा जग्गा कारोबारी सल्बलाए, रोके पनि भित्रभित्रै कारोबार

दिवाकर पोख्रेल गोरखापत्र
देउखुरी,असोज २४ गते । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) बनाउने प्रदेश सभाले निर्णयसंगै देउखुरी क्षेत्रमा आन्तरिक रुपमा जग्गाको कारोबार बढ्न थालेको छ ।
राजधानीको नाममा जग्गाको अस्वभाविक कारोबार हुने ठानेपछि सरकारले जग्गाको कित्ताकाट रोक्का गरेपनि भित्रभित्रै जग्गाको कारोबार भइरहेको छ । अहिले राजधानीको केन्द्र भनिएका क्षेत्र सहतिका आसपासमा जग्गाको कारोवार रोकिएपनि कपाली कागज वनाएर बैना बुझाएर जग्गा रोक्ने काम भइरहेको स्थानीय बताउँछन । सरकारले जग्गा कारोवार गर्न रोक लगाएको अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नम्बर ८,९ राप्ती गाउँपालिका र गढवा गाउँपालिकाको वडा नम्बर १,२,३ जग्गा बढी केन्द्रित भएको पाइएको छ ।
सरकारले जग्गा कारोबार गर्न रोक लगाएको हुँदा जग्गा कारोबारको सरकारी रेकर्डमा नभेटिए पनि घरघर पुगेर आपसी सझदारीमा सामान्य कागजकै आधारमा जग्गा किनबेच भइरहेको हो ।
अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ८ लाहापेका स्थानीय विरवहादुर दर्लामीले राजधानी घोषणा हुनु दुइदिन पहिलेबाट अहिले सम्म दैनिक मानसिहरु हुलका हुल जग्गा खोज्दै हिंडेको बताउनुभयो ।
साना गाडी लिएर मानसिहरु हुलका हुल आउन थालेका छैन, मैले मेरो जग्गा बिक्री गरेको छैन, छिमेकीले सामान्य कागज वनाएर महङगो पारेर बिक्री गरेका छन् उहाँले भन्नुभयो ।
सातमारा, लाहापे क्षेत्रमा प्रति रोपनी पाँचलाख सम्म बिक्री भएका जग्गा अहिले प्रति रोपनी १५ देखि २० लाख भन्दा माथि कारोबार भइरहेको स्थानीयहरू बताउँछन ।
राप्ती गाउँपालिका क्षेत्रका भित्री खेतमासम्म जग्गा कारोबारीको दौडधुप चलिरहेको छ । दाङ सहित बुटवल, रोल्पा, काठमाडांै र छिमेकी जिल्लबाट जग्गा कारोबारीले बैना बुझाउँदै कागज वनाउँदै कारोवार गररहेको पाइएको छ । जग्गा बिक्री गर्ने र खरिद गर्नेले यस विषयमा बोल्न नचाहेपनि राप्ती गाउँपालिकामा प्रवेश गर्दा वित्तिकै छ्याछयाप्ती देखिने साना सवारी साधन र नयाँ मानिसको जमघटले जग्गाको कारोवार आन्तरिक रुपमा चलिरहेको पाउन सकिन्छ ।
राप्ती गाउँपालिकाले सूचना जारी गरी राजधानी देउखुरी टुङगो लागिसकेको अवस्थामा जग्गाको कारोबार रोक्का गरिएको जनाएको छ । लुकीछिपी आन्तरिक रुपमा गरिएको जग्गाको कारोबारले भविष्यमा पर्ने असरको हेक्का राख्न आग्रह समेत सूचनामा गरिएको छ । दाङ देउखुरी क्षेत्रका प्रदेश सभासदहरुले जग्गाको आन्तरिक कारोबारलाई रोक्न स्थानीय पालिकालाई पटक पटक आग्रह गर्दै आएका छन् ।
साँसद इन्द्रजित थारुले राजधानीको लागि आवश्यक भौतिक पूर्वाधार विस्तृत गुरुयोजना वनाइने र अहिले जग्गाको अव्यवस्थित कारोवारले समस्या निम्ताउने हुँदा जग्गाको कारोवार रोक्न आग्रह गर्नुभयो ।
मालपोत कार्यालयको तथ्याङ्कले कारोबार खुला रहेको स्थानमा पनि कारोवार तीब्र नभएको देखाउँछ । मालपोत कार्यालय लमहीका प्रम्ख कृष्ण केसीले ठूलो संख्यामा जग्गाको कारोवार नभएको भित्र भित्र हुने कारोवार आफूहरुलाई थाहा नहुने बताउनुभयो । उहाँले भन्नुभयो,रोकिएको ठाउँको कारोवार नभएपछि मालपोतमा आउने कुरै भएन खुलेको ठाउँमा दैनिक २० देखि २५ वटा जग्गा पास हुने गरेको छ ।

अन्य समाचारहरु