सागर बेल्बासे
देवदह मंसिर ४ गते २०७७ – मंसिर ४ गते अर्थात् आज ‘विश्व शौचालय दिवसकाे अवसरमा नव युवा संजाल देवदहका संयोजक प्रदिप ज्ञवाली सहितकाे टाेलिले देवदह नगरपालिका मेयर हिरा बहादुर खत्रीलाई `विश्व शौचालय दिवस’ को अवसर पारेर सार्वजनिक शौचालय निर्माणकाे माग राख्दै ज्ञापन पत्र बुजाएको छ ।
उक्त ज्ञापनपत्रमा भनिएकाे छ:-
मितिः २०७७/०८/०४
श्री नगरप्रमुख ज्यू,
देवदह नगरपालिका,
रुपन्देही जिल्ला, लुम्बिनी प्रदेश
विषयः सार्वजनिक शौचालय निर्माणका सम्बन्धमा ।
महोदय,
आज मंसिर ४ गते अर्थात् आज ‘विश्व शौचालय दिवस’ । यसको अवशरमा हार्दिक शुभकामना व्यक्त गर्दै हामीले देखे- बुझेका कुराहरू राख्दै केही माग अगाडि बढाउँदै छौं ।
भनिन्छ, ‘कुनै नगर कति विकसित छ भनेर त्यहाँका सडक हेर्नुपर्छ, अनि नगर कति सभ्य र व्यवस्थित छ भन्ने त्यहाँका शौचालय हेरेर थाहा हुन्छ’। तर हाम्रो नगरमा सार्वजनिक शौचालयको अभाव र भएका शौचालयको स्तिथि कस्तो छ भन्ने यहाँलाई जानकारी नै छ होला ।
हाम्रो सुन्दर नगर देवदह खुला दिशापिसाब मुक्त क्षेत्र पनि घोषणा भएको आज लगभग ५ वर्ष पूरा भइसकेको छ । तर विडम्बना आजको दिनमा पनि नगरमा पर्याप्त सार्वजनिक शौचालय देखिँदैन । यसले खुला दिशापिसाब मुक्त क्षेत्र घोषणा कार्यक्रमलाई समेत गिज्याइरहेको छ ।
नगरका मुख्य शहरी केन्द्रहरुमा सार्वजनिक शौचालयको अभावको फलस्वरुप यहाँका आगन्तुक, स्थानीय तथा यात्रु एवं पर्यटकहरुलाई अत्यन्त असहज हुने गरेको छ । त्यसैले यस समस्या समाधानको सन्दर्भमा निम्न बमोजिमका मागहरु यहाँमार्फत नगरपालिका समक्ष प्रस्तुत गर्न चाहन्छौँः
१. नगरभित्रका शहरी क्षेत्रमा कम्तिमा ५०० मिटरमा एउटा सार्वजनिक शौचालयको निर्माण गर्नुपर्ने ।
२. अब निर्माण हुने र नगर भित्र निर्माण भइसकेका सार्वजनिक शौचालयहरु लैङ्गिकतामैत्री, अपाङ्गमैत्री र खुला बनाइनु पर्ने ।
३. सार्वजनिक शौचालयहरुको सरसफाई तथा व्यवस्थापनका लागि नगर कार्यपालिकाको सार्वजनिक आह्वानबाट कर्मचारीको व्यवस्था गर्नुपर्ने ।
४. सार्वजनिक शौचालयहरुमा पर्याप्त मात्रामा पानीको व्यवस्थापन गर्नुका साथै मलमुत्रलाई दीगो उपयोगका लागि प्रविधिको उपयोग गर्ने नीति ल्याउनुपर्ने ।
उपरोक्त मागहरु यथाशिघ्र कार्यान्वयन गर्न हार्दिक अनुरोध गर्दै यसक्रममा हाम्रो साथ-समर्थन चाहिएमा हामी सदैव उपलब्ध रहेको जानकारी गराउँछौँ ।
अर्को शौचालय दिवसमा यहाँलाई माग पुरा गरेकोमा धन्यवाद पत्र दिने माहोल बन्ने अपेक्षा राखेका छाै भन्दै ज्ञापनपत्रमा उल्लेख गरिएको छ।