अर्घाखाँचीडट्कम संवाददाता
बुटवल । प्रवासी नेपालीहरूका नेता एवं नेकपाका केन्द्रीय सदस्य गिरधारीलाल न्यौपानेको पुस्तक ‘राजनीतिक जीवनयात्राका चार दशक’ लोकार्पण गरिएको छ ।
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपि शर्मा ओलीले पुस्ततको लोकार्पण गरे । बुटवलमा नेकपाको जनसभाको अवसरमा प्रधानमन्त्रीले न्यौपानेद्वारा लिखित पुस्तकको लोकार्पण गरे ।प्रवासीहरूको सङ्गठनमा योगदान दिएका न्यौपानेले प्रवासमा रहँदाको आफ्नो महत्वपूर्ण अनुभवलाई समेटेका छन् । तीन दशक प्रवास र त्यसपछिको एक दशक नेपालमा जनपक्षीय आन्दोलन र अभियानमा आफूले भोगेका सुखद, दुःखद दुवै खाले क्षण र घटनाक्रमका अनुभवलाई पुस्तकमा समावेश गरेको न्यौपानेले बताए ।
न्यौपाने नेपाल कम्युनिस्ट पार्टी (मसाल)को भातृ सङ्गठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको महासचिव हुँदै अध्यक्ष भएका थिए । एक दशकसम्म नेकपा (मसाल) को प्रवास शाखाको इन्चार्ज रहँदै पोलिटव्युरो सदस्य समेत बनेका उनले २०६६ सालमा तत्कालीन एकीकृत माओवादीसँग पार्टी एकता पछि सो पार्टीको पोलिटव्युरो सदस्य बने । हाल उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य हुन् ।
आफ्नो ४० वर्ष लामो राजनीतिक जीवनयात्रालाई सङ्क्षिप्त रूपमा दस्तावेजीकरण गरिएको उनले बताए ।
उनले नेपाली कम्युनिस्टहरूका गुरु मानिने मोहनविक्रम सिंहदेखि चित्रबहादुर केसी, मोहन वैद्य किरण र पूर्व प्रधानमन्त्रीद्वय प्रचण्ड, डा. बाबुराम भट्टराई, भएका कार्य,सहकार्यको सङ्क्षिप्त विवरणसमेत पुस्तकमा उतारिएको बताए । कमजोर आर्थिक अवस्थाका कारण १४ वर्षे बाल्यकालदेखि नै विदेशीएर भारतका घर, होटल र कारखानामा काम गरेका उनले एकता समाजका माध्यमबाट पीडित प्रवासी नेपालीको पक्षमा भएगरेका कार्यलाई उल्लेख गरिएको बताए । पुस्तकमा प्रधानमन्त्री ओली, पूर्व प्रधानमन्त्रीहरु प्रचण्ड, भट्टराई लगायतले शुभकामना सन्देश दिएका छन् ।