गुल्मीको धुर्कोटका जनक व्यावसायिक मौरी पालेर मनग्य आम्दानी गर्दै

दिपेन्द्र खत्री 
धुर्कोट, गुल्मी १० चैत्र । घर वरिपरि मौरीका घारैघार । घर अघि सुन्तलाको बगैचा । बिहानै उठेदेखि साँझ नपरुन्जेल मौरीको घारको हेरचाह गर्ने गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर –१ नयाँगाँउस्थित खालका ६८ बषिर्य जनक बहादुर खत्रीको दिनचर्या हो । उहाँले मौरीको मह बचेर नै बार्षिक लाखौं आम्दानी गर्नुहुन्छ । 
उमेरले ६८ बर्ष पुग्नुभएका जनकबहादुर खत्री, परिश्रम र मेहेनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौ रुपैया आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरणको पात्र  बन्नुभएको छ ।  विगत पाचँ बर्षदेखि व्यावसायिक रुपमा मौरीपालन व्यावसाय गर्दै आउनुभएका कृषक खत्रीले मह उत्पादन गरेर बार्षिक लाखै रुपैया आम्दानी गर्दै आउनुभएको छ । ४ जनाको परिवार सजिलै चलाउनुभएको छ भने बृद्ध अवस्थामा पनि अरुको मुख ताक्नु परेको छैन ।  घरमा अहिले सेरेना जातको ५२ वटा मौरीका घार छन्् । मौरीले राम्रै फाइदा दिदाँ खत्री पनि दंग हुनुुहन्छ । 
उहाँले वर्षमा दुई पटक मह निकाल्ने  गर्नुहुन्छ । २०६९ सालबाट ब्याबसायिक माहुरीपालन गर्न थाल्नुभएका कृषक खत्रीको मुख्य आम्दानीको श्रोत नै  यहि हो । स्थानिय सरकारको सहयोगमा व्यवसाय शुरु गर्नुभएका खत्रीले व्यावसायलाई अझै बढाउने योजना  बनाउनुभएको छ ।   उत्पादन गरेको मह घरवाटै बिक्रि हुने गरेको छ । गुणस्तरीय मह भएकाले अधिकांस मह घरवाटै १२ सय रुपैयामा विक्रि हुन्छ । गुल्मी जिल्लासंगै छिमेकी जिल्ला अर्घाखाँची,बागलुङ,प्युठान,पर्वत लगायतका क्षेत्रवाट पनि ग्राहक घरमै आएर मह  लैजाने गरेका छन् । प्रदेश र  स्थानिय सरकारको सहयोगमा तालिम लिएपछि खत्रीे मौरीपालनमा  लाग्नुभएको हो । उहाँले मह मात्र बेच्नुहुन्न मौरीको घार र गोला समेत विक्रि  गर्नुहुन्छ । 
सेरेना जातको माहुरीको मह भीर माहुरीकै जस्तै गुणस्तरीय हुने भएकाले राम्रो फाइदा हुने धुर्कोट गाउँपालिका वडा नम्बर १का  वडाध्यक्ष कमल थापाले  बताउनुभयो । वडा भित्र मौरीपालन गर्नेहरुको लागी वडाबाट आबश्यक सामाग्री उपलब्ध गराएको समेत बताउनुभयो । 
मौरी पालनको क्षेत्रमा राम्रो सम्भावना भएपनि आवश्यक ज्ञानको कमीले कृषकले परम्परागत ढंगले मौरी पाल्ने  गरेका छन ।  यसका लागी मौरी पालनको आबश्यक तालिम संचालन गर्नुपर्ने देखिन्छ । भने यी बृद्धाको कामबाट अन्य युवाहरुले पनि पाठ सिक्न जरुरी छ ।

अन्य समाचारहरु