नयाँ स्टक एक्सचेञ्जका लागि धितोपत्र बजार सञ्चालन नियामावली २०६४ संशोधन, चुक्तापूँजी ३ अर्ब मात्र भए पुग्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ स्टक एक्सचेञ्जका लागि धितोपत्र बजार सञ्चालन नियामावली २०६४ संशोधन गरेको छ ।
बोर्डको सञ्चालक समितिको बैठकले उक्त नियमावली संशोधन गरी स्वीकृतीका लागि अर्थ मन्त्रालयमा पठाएको सेबोनका प्रवक्ता  रुपेश के.सीले बताए ।  संशोधित नियमावली स्वीकृतिका लागि अर्थ मन्त्रालयले मन्त्रिपरिषदमाा पेस गर्ने र मन्त्रिपरिषदले पास गरेपछि सेबोनले कार्यान्वयनमा ल्याउने उनले बताए । 
चुक्तापूँजी, लगानीको व्यवस्था र शेयर हिस्सा ग्रहणको व्यवस्थामा संशोधन गरिएको उनले जानकारी दिए । नयाँ स्टक एक्सचेञ्जका लागि न्यूनतम चुक्तापूँजी रू.३ अर्ब रुपैयाँ प्रस्ताव गरी नियमावली संशोधन गरिएको हो ।  हाल चुक्तापूँजी ५ करोड रुपैयाँ भए पुग्ने व्यवस्था छ । त्यसैगरी संशोधन नियमावलीमा अन्य संस्थागत लगानीकर्ताले समेत लगानी गर्न सक्ने व्यवस्था गरिएको छ। पब्लिक वा प्राइभेट जुनसुकै योग्य संस्थागत लगानीकर्ताले लगानी गर्न सक्ने व्यवस्था गरिएको छ ।  
हाल बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचीकृत संगठित संस्थाले मात्र स्टक एक्सचेञ्जको शेयरमा लगानी गर्न सक्ने व्यवस्था छ । संशोधित नियमावलीमा कुनै एक संगठित संस्था वा कम्पनीले नयाँ स्टक एक्सचेञ्जमा लगानी गर्न सक्ने सीमा पनि बढाइएको छ ।
हाल कुनै एक कम्पनी वा संगठित संस्थाले स्टक एक्सचेञ्को चुक्तापूँजीको १० प्रतिशतभन्दा बढी हिस्सा ग्रहण गर्न नपाउने व्यवस्था छ। त्यसलाई बढाएर १५ प्रतिशत पुर्‍याइएको छ । धितोपत्र बोर्ड स्रोतका अनुसार आगामी दशैं अगाडि नै प्रक्रिया पुरा गरेर नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिइने छ ।
छिमेकी मुलुक भारतमा पनि बीएसई र एनएसई दुई ओटा स्टक एक्सचेञ्ज सञ्चालनमा छन्।अभियानले उल्लेख गरेको छ।