लुम्बिनी सांस्कृतिक नगरपालिकाद्वारा जनप्रतिनिधि र कर्मचारीलाई भु-उपयोग योजना , अभिमुखिकरण कार्यक्रमको आयोजना ।

– कृष्ण परीयार 
लुम्बिनी सांस्कृतिक नगरपालिकाले भु-उपयोग योजना सम्बन्धि आभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । जनप्रतिनिधि र कर्मचारीलाई भू-उपयोगको वर्गिकरण गर्न सहजीकरण गर्न कार्यक्रम आयोजना गरिएको हो ।
 लुम्बिनीको पर्सामा आयोजित उक्त कार्यक्रममा २ वटा कार्यपत्र प्रस्तुतीकरण र छलफल भएको बताइएको छ ।
लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेयले भू-उपयोग योजना सम्बन्धि नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था र वर्गिकरणका आधार सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । वहाँले लुम्बिनीको विशिष्ट महत्व र विकासको अवसर भएकाले अत्यन्त संवेदनशील भई भू-उपयोगको वर्गिकरण गरि व्यवस्थित र विपद् संवेदनशील वस्ति विकासमा जोड दिनु भएको थियो । 
नापी कार्यालय भैरहवाका नापी अधिकृत हरिकृष्ण त्रिपाठीले भु-उपयोग ऐन, २०७६ तथा नियमावली, २०७९ ले निर्दिष्ट गरेका प्रावधानका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे । वहाँले जग्गा वर्गिकरणका सम्बन्धमा अवलम्बन गर्नुपर्ने प्राविधिक पक्ष माथि प्रकाश पार्नु भएको थियो । त्यस्तै मालपोत कार्यालय भैरहवाका प्रमुख मालपोत अधिकृत कुमार आचार्यले कानुनले तोकेको समय सीमा भित्र भूउपयोगको वर्गिकरण गरि नागरिकलाई सरल र सहज सेवा प्रवाह गर्नुपर्ने बताउनु भएको थियोे ।
 सहभागीहरुबाट उठेका जिज्ञासाहरुको संवोधन प्रमुख मालपोत अधिकृत आचार्य र नापी अधिकृत त्रिपाठीले गर्नु भएको थियो । 
कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर प्रमुख, उप प्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु तथा विभिन्न शाखाका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । त्यस्तै नगरपालिकाका सल्लाहकार मोहम्मद सईद खाँ र सरोकारवालाहरुको समेत उपस्थिति रहेको थियो । 
नगर प्रमुख सजरुद्दिन मुसलमानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सन्चालन समन्वय अधिकृत तुलसीराम लामिछाने गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रशासन शाखा प्रमुख शोभाखर पौडेलले राख्नुभएको थियो ।
कार्यक्रमको समापन मन्तव्य राख्दै नगर प्रमुख मुसलमानले जग्गा वर्गिकरण कार्य शिघ्र सम्पन्न गरि कित्ताकाटको लागि बाटो सहज गर्न निर्देशन गर्नु भएको थियो ।
लुम्बिनी साँस्कृतिक नगरपालिकामा स्थानीय भू-उपयोग परिषद् र कार्यान्वयन समिति गठन गरि भू-उपयोगको वर्गिकरण कार्य भईरहेको छ ।

अन्य समाचारहरु