तथ्याङ्क विश्वसनीय नभएपछि राष्ट्र बैंकले रोक्यो घरजग्गाको मूल्यसम्बन्धी सर्वेक्षण

 

 

1903-x-650_1.jpg

 

काठमाडौं । विश्वसनीय तथ्याङ्कको अभाव भएको भन्दै नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबारको मूल्य सर्वेक्षण प्रतिवेदन प्रकाशन गर्न बन्द गरेको छ ।

तीन÷तीन महिनामा प्रतिवेदन सार्वजनिक गर्नेगरी अघिल्लो वर्ष मङ्सिरदेखि सुरु गरिएको उक्त सर्वेक्षण रोकिएको हो ।

यसरी सर्वेक्षण रोकिनुमा सर्वेक्षणबाट प्राप्त हुने मूल्यको विश्वसनीयतालाई मुख्य कारण मानिएको छ । राष्ट्र बैंकलाई उपलब्ध भएका तथ्याङ्क विश्वास गर्नसक्ने खालको नदेखिएपछि यसलाई निरन्तरता दिन नसकिएको केन्द्रीय बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

‘सर्वेक्षणका लागि हामीले मालपोत कार्यालयमा भएको कारोबार, बैंकमा धितो प्रयोजनका लागि कायम गरिएको मूल्य र हामीले छनोट गरेका बजार केन्द्रबाट स्वतन्त्ररूपमा प्राप्त गरेको मूल्यलाई आधार बनाएका थियौँ’, कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो, ‘अहिले घरजग्गा क्षेत्रमा मन्दी देखिँदा यी तथ्याङ्कमा समानता पाइएन । बैंकको धितोको मूल्याङ्कनमा र मालपोतको कारोबारमा मूल्यमा समानता देखिएन, किनबेच हुँदाको मूल्य पनि कतै घट्ने, कतै बढ्ने गरेको देखियो ।’

यसरी मूल्यमा उतारचढाव देखिनुले यो क्षेत्र अझै पनि व्यावसायिक र प्रतिस्पर्धात्मक हुन नसकेको राष्ट्र बैंकको निष्कर्ष छ । खासगरी धितो मूल्याङ्कनका लागि कारोबार मूल्य बढी देखाउने, कर प्रयोजनका लागि मूल्य कम देखाउने तथा परिवारभित्रका सदस्यबीच कारोबार हुँदा एउटा मूल्य कायम गर्ने प्रवृत्तिले यो अवस्था आएको हुनसक्ने डा श्रेष्ठको भनाइ छ ।

images

घरजग्गा कारोबारमा मालपोत कार्यालयले कारोबार कर र पूँजीगत लाभकर लिँदै आएको छ । धेरै मूल्य देखाउँदा खरिदकर्ताले तिर्नुपर्ने कारोबार कर बढी हुन आउने र बिक्रेताले तिर्नुपर्ने पुँजीगत लाभकर पनि बढ्ने भएकाले कम मूल्य कायम गरेर जग्गाको कारोबार गर्ने चलन छ ।

images

तर बैंकबाट ऋण लिन चाहने वा बैंकको ऋणमै जग्गा किन्नेले भने धेरै मूल्य कायम गरेर जग्गाको कारोबार गर्ने गरेको पाइएको छ । यसले प्राप्त तथ्याङ्कको विश्वसनीयता घटाएको राष्ट्र बैंकको निष्कर्ष छ ।

images

यसअघि राष्ट्र बैंकले बढी घरजग्गाको कारोबार हुने देशका २० वटा सहरलाई बजार केन्द्र बनाएर सर्वेक्षण सुरु गरेको थियो । सर्वेक्षणमा जमिनको आकार, मोहडा, मुख्य बजारसम्मको दूरी, बस्तीको सम्मिश्रण, बाटोको आकार र भौतिक पूर्वाधारको अवस्थालाई समेत हेरेर मूल्यसम्बन्धी तथ्याङ्क सङ्कलन गरिएको थियो ।

अहिले विश्वका ६० भन्दा धेरै मुलुकले घरजग्गा कारोबारको नियमित सर्वेक्षण गर्दै आएका छन् । दक्षिण एशियाली मुलुक भारत, श्रीलङका्देखि संयुक्त राज्य अमेरिका, टर्की, इन्डोनेसिया, ओमनलगायत देशमा केन्द्रीय बैंकले नियमितरूपमा यस्तो सर्वेक्षण गर्ने गरेको राष्ट्र बैंकले जनाएको छ ।-  रासस

अन्य समाचारहरु