छोरा र ज्वाइँले गराए सुटरमार्फत बुवाको हत्या

 

 

 

जनकपुरधाम  : पारिवारिक विवादमा सुटर प्रयोग गरी बुवाको हत्या गरेको आरोपमा छोरा र ज्वाइँसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा छोरा प्रदीप दास, ज्वाइँ उदय दास र सुटर रञ्जित यादव छन्।

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ का ४० वर्षीय धनुषधारी दासको पुस ९ गते बेलुका साढे ७ बजे गोली प्रहारबाट ज्यान गएको थियो। उक्त घटनामा संलग्न आरोपितलाई प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

धनुषधारीले दोस्रो विवाह गरी छोरी पाएपछि सम्पत्ति बाँडिने भएपछि जेठी श्रीमतीपट्टिका छोरा र ज्वाइँले ५ लाख भारतीय रुपैयाँमा हत्या गराउने योजना बनाएको खुलेको प्रहरीले जनाएको छ। अभियुक्त उदय नेपाल प्रहरीका सहायक हवल्दार हुन्। उनी मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरमा सवारी चालक हुन्।

उनीहरूले एक महिनादेखि योजना बनाएको खुलेको छ। घटनामा संलग्न अनुसन्धान अधिकृतले भने, ‘जेठी र कान्छी श्रीमतीबीचको विवादमा कुटाकुट भएपछि जेठी श्रीमतीलाई छोडेर कान्छी श्रीमतीसँग धनुषधारी बस्ने गरेको र जेठीलाई खान बस्न पनि नदिएपछि रिसरागमा आएर हत्या योजना बुनिएको रहेछ। कान्छी श्रीमतीको छोरी भएपछि सम्पत्तिमा अंश लाग्ने र सम्पत्ति बाँडफाँट हुने भएपछिको रिसले हत्याको जालो बुनिएको अनुसन्धानबाट खुलेको हो।’

images

प्रहरीको अनुसन्धानबाट धनुषधारीको पसल अगाडि दमकल बनाइरहेको अवस्थामा मोटरसाइकलबाट ओर्लिएर दासलाई दमकल बिग्रिएर बनाउनुछ भनी कुराकानीको क्रममा सुर्ती मागेर खाएको र कटुवा पेस्तोल निकालेर फायर गरेको खुलेको छ। गोली काण्डभन्दा अगाडि सुटरले एक महिनादेखि जनकपुरधामको मुरली चोकमा डेरा लिएर बस्दै आएको र योजना बनाएको खुलेको हो।

images

धनुषधारीलाई गोली प्रहार गरी हत्या भएको तीन दिनपछि उदयले गोली प्रहार गर्ने रञ्जितलाई ५ लाखमध्येको ३ लाख रुपैयाँ दिएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। तीनै जनालाई थप अनुसन्धानका लागि म्याद लिने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। पक्राउ परेको अभियुक्तहरूको साथबाट गोली प्रहार गरेको कटुवा पेस्तोल १ थान, कटुवा पेस्तोलमा लाग्ने खोका, अटोमेटिक पेस्तोलमा लाग्ने म्यागजिन १ थान, अटोमेटिक पेस्तोलको गोली राउन्ड १ थान फेला परेको प्रहरी उपरिक्षक विश्वराज खड्काले जानकारी दिए।अन्न्पूर्णले उल्लेख गरेको छ।