
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले इतिहासका उपलब्धिप्रति कृतज्ञ हुने समाजले मात्र आफू र सन्ततिमाथि न्याय गर्न बताएकी छन्। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना सन्देश दिँदै उनले वर्तमान समयका उपलब्धिहरूमा पूर्वजहरूले गरेका त्याग र बलिदानप्रति सम्मान व्यक्त गर्नुपर्ने बताएकी हुन्।

‘वर्तमान समयका उपलब्धिहरूमा गौरवबोध गरिरहँदा इतिहासमा हाम्रा पूर्वजहरूले गरेका त्याग र बलिदानप्रति हामीले उत्तिकै सम्मान व्यक्त गर्नु पर्दछ । लामो इतिहासको कालखण्डमा घटेका घटनालाई उही समयको सापेक्षतामा परिशीलन गर्दै तिनका सकारात्मक पक्षबाट आजको पुस्तालाई प्राप्त हुने मार्गदर्शन ग्रहण गर्नु मानव सभ्यताको शाश्वत अभ्यास हो।’ शुभकामना सन्देशमा भनिएको छ, ‘आफ्नो इतिहासका उपलब्धिप्रति कृतज्ञ हुने समाजले मात्र आफू र आफ्ना सन्ततिमाथि न्याय गर्न सक्दछ भन्ने सत्यलाई हामी सबैले मनन गर्नु पर्दछ । यस दिवसबाट हाम्रो सुदृढ देशभक्तिको भावनामा एउटा बलियो आयाम थप्न योगदान मिल्ने मैले विश्वास लिएको छु ।
छरिएर रहेका साना राज्यहरूको एकीकरणबाट आधुनिक नेपाल राष्ट्रको निर्माण हुनु हाम्रो इतिहासको विशिष्ट एवं गौरवपूर्ण अध्याय भएको उनको भनाई छ । शुभकामना सन्देशमा भनिएको छ, ‘तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल निर्माणको अभियानलाई दशकौंसम्म हाम्रा वीर पुर्खाले अगाडि बढाएकै हुनाले नेपालको स्वतन्त्र र सार्वभौम अस्तित्व कायम रहन सकेको ऐतिहासिक यथार्थ हामी सबैले आत्मसात गर्नु पर्दछ।’

राष्ट्रपति भण्डारीले एकीकरणले तयार गरेको आधारभूमिमा उभिएर नै सार्वभौम, स्वतन्त्र, समावेशी, लोकतान्त्रिक गणतन्त्र नेपालसम्मको यात्रा तय गर्न सफल भएको उल्लेख गरिन्। तत्कालीन समयमा पृथ्वीनारायण शाहले दिएका उपदेश वर्तमान सन्दर्भमा पनि उत्तिकै मननीय रहेको उनको भनाई छ। उनले भनेकी छन्, ‘स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न, जनतालाई अधिकारसम्पन्न बनाई राज्यसँग अपनत्वको भाव कायम राख्न तथा कुशल परराष्ट्र सम्बन्ध सञ्चालन गर्न समेतका बहुआयामिक क्षेत्रमा हामीले पृथ्वीनारायण शाहका उपदेशलाई सर्वकालिक सन्दर्भ सामग्रीका रूपमा लिन सक्दछौं ।’

राष्ट्रिय एकता दिवसले हाम्रो मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राखी जनताको सुख र समृद्धि हासिल गर्न सबैमा प्रेरणा प्रदान गर्ने राष्ट्रपति भण्डारीको विश्वास छ।
आज नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०१ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस हो। सरकारले आज सार्वजनिक बिदा दिएको छ।



