
-आरएन न्युज ।
काठमाडौँ । सरकारले संवैधानिक परिषद्का काम, कर्तव्य अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन विधेयक २०७९ फिर्ता लिने निर्णय गरेको छ ।

फागुन ४ गते बसेको मन्त्रिपरिषद्का बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले लगानी कम्पनी स्थापना गर्दा पालना गर्नुपर्ने विषय तथा शर्त नेपाल राजपत्रमा प्रकाशित गर्न स्वीकृति दिने निर्णय भएको बताउनुभयो ।

सञ्चारमन्त्री शर्माले मण्डनदेउ–६, बेथानचोक–२, लिखु–४, रघुगंगा–२, तातोपानी–४, रिब्दीकोट–३, रुरुक्षेत्र–४ र अपिहिमाल–४ गरी आठ स्थानमा औद्योगिक ग्राम सरकारले घोषणा गर्ने बताउनुभयो ।
बर्डफ्लु रोग नियन्त्रणका क्रममा आर्थिक वर्ष २०७८/०७९ मा प्रचलित कानून बमोजिम नष्ट गरिएका वस्तुहरूको लागि सरकारले राहत प्रदान गर्ने, २०८० सालमा दिइने सार्वजनिक बिदा निर्धारण गर्ने सरकारले निर्णय गरेको समेत सञ्चारमन्त्री शर्माले जानकारी दिनुभयो ।

काठमाडौँ जिल्ला साबिक थानकोट गाउँ विकास समिति वडा नम्बर–२ को २३ रोपनी सरकारी जग्गा चन्द्रागिरि नगरपालिकालाई १५ शैंयाको आधारभूत अस्पताल निर्माणार्थ उपयोग गर्न स्वीकृति दिने र स्वास्थ्य सेवाका विभिन्न समूहका अधिकृतहरूलाई स्वास्थ्य सेवाका एघारौँ तहमा बढुवा नियुक्ति गरी पदस्थापन गर्ने सरकारले निर्णय गरेको छ ।



