एक्सरे गर्दा पेटमा सिसाको बोतल देखिएपछि…

spot_img

 

-शिव पुरी /कान्तिपुर

रौतहट — रौतहटको गुजरा नगरपालिका–९ अमतबा टोलका २६ वर्षीय नुर्साद मन्सुरीलाई आइतबार बिहान अचानक पेट दुख्यो । त्यसपछि उनका बुवा नेवाजी मन्सुरीले स्थानीय क्लिनिकबाट औषधि किनेर खुवाए । त्यसले ठीक भएन । निकै पीडा हुन थालेपछि नुर्सादलाई सोमबार उपचारका लागि चन्द्रपुर अस्पतालमा भर्ना गराइयो ।

अस्पतालले तत्कालै पेटको एक्सरे गरायो । रिपोर्टमा भने पेटभित्र सिंगो रक्सीको बोतल देखेपछि चिकित्सक नै आश्चर्यमा परे । ‘आखिर पेटमा यति ठूलो बोतल कसरी पस्यो ?’ स्वास्थ्यकर्मीहरू कानेखुसी गर्न थाले ।

पेटभित्र ठूलै बोतल देखेपछि आन्द्रा फुटेको हुनसक्ने भन्दै नुर्सादलाई थप उपचारका लागि भरतपुर रिफर गरिएको छ । चन्द्रपुर अस्पतालका डा. अभिषेक अधिकारीले नुर्सादलाई पेट दुखेको निको नभएपछि झण्डै आधा घण्टा उपचारका लागि राखेर एक्सरे गराएका थिए । त्यस क्रममा उनको पेटमा बोतल देखेपछि बाहिर रिफर गरेको डा. अधिकारीले बताए ।

‘एक्सरे गर्दा सिंगो बोतल नै पेटभित्र देखेपछि हामी आश्चर्यमा पर्यौं,’ उनले भने, ‘स्वास्थ्यमा गम्भीर असर पर्ने देखेरै हामीले बाहिर रिफर गरेका हौं ।’ अवस्था गम्भीर बन्दै गएपछि उनलाई भरतपुरस्थित पुरानो मेडिकल कलेजमा भर्ना गरिएको छ । त्यहाँ थप एक्सरे गरेपछि डा. नारायण बेलबासेले पेटको शल्यक्रिया गरेर सिंगो सिसाको बोतल निकालेका थिए ।

तर डा. बेलबासेका अनुसार अझै नुर्सादको स्वास्थ्य खतरामुक्त भइसकेको छैन । ‘झण्डै २ घण्टा लगाएर शल्यक्रिया गरेर बोतल निकालें,’ उनले भने, ‘४८ घण्टासम्म निगरानीमा राखेपछि मात्र अवस्था भन्न सकिन्छ । अहिले बिरामी बोल्नसक्ने अवस्थामा छैनन् ।’ शल्यक्रियापछि उनलाई भेन्टिलेटरमा राखिएको छ ।

साथीले पेटमा छिराएका थिए बोतल

प्रहरीको प्रारम्भीक अनुसन्धान अनुसार नुर्सादको पेटमा उनकै साथीले मलद्वारबाट बोतल छिराइदिएको खुलेको छ । चार दिनअघि चन्द्रपुर–१० बाल्चनपुरस्थित समीरको अटो ग्यारेजमा नुर्साद र उनका साथी मोहम्मद समीरसँगै बसेर मादक पदार्थ सेवन गर्न थालेका थिए ।

नुर्सादले बोतलमा पिसाब राखेर साथीहरूलाई रक्सी भन्दै खुवाएका रहेछन् । यो कुरा समीरले थाहा पाई नुर्सादलाई यही शनिबार ग्यारेजमै बोलाएर नशालु पदार्थ खवाई बेहोस बनाएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

त्यसपछि उनले रक्सीको हाफ बोतलको खाली सिसी मलद्वारबाट भित्र पसाइदिएका थिए । उनी होसमा आएपछि बेस्सरी पेट दुख्न थालेका थिए । औषधिले पनि ठीक नभएपछि अस्पताल ल्याएर एक्सरे गर्दा घटनाको रहस्य बाहिरिएको प्रहरीले जनाएको छ । घटनापछि समीर फरार रहेको इलाका प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा एक जनालाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको डीएसपी एकनारायण कोइरालाले बताए । प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिको नाम सार्वजनिक गरेको छैन ।कान्तिपुरले समाचारमा उल्लेख गरेको छ।