सरकारलाई दिएको समर्थन फिर्ता लिने बिषयमा माओवादी संसदीय दलको बैठक बस्दै

लुम्बिनी – लुम्बिनी प्रदेश सरकारको मुख्य साझेदार नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय लिन आज संसदीय दलको बैठक बोलाएको छ ।

माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बिहीबार दिउसो बस्ने माओवादी संसदीय दलको बैठकबाट एमाले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने बताए ।

‘आज दलको बैठक बसेर समर्थन फिर्तासहितका विषयमा निर्णय हुन्छन्’ उनले भने ।

लुम्बिनी प्रदेशका सांसदको शपथग्रहण आज

पुस २८ मा माओवादी केन्द्रसहित लोसपा, नागरिक उन्मुक्ति, राप्रपा, जसपाको समर्थनमा एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बनेका थिए । तर नयाँ गठबन्धनमा एमाले र राप्रपाबाहेक सबै परेपछि एमालेलाई समस्या परेको हो ।

केन्द्रमा समीकरण फेरिएपछि सोही अनुसार ती दलले एमाले नेतृत्वको सरकारप्रतिको समर्थन फिर्ता लिने तयारी यसअघि नै थाले पनि प्रदेशको नेतृत्वको विषयमा कांग्रेस माओवादीबीच कुरा नमिल्दा रोकिएका हुन् ।

प्रदेशमा एमाले पहिलो दल भएकाले पनि उनीहरुले समर्थन फिर्ता लिँदा सरकार बनाउने प्रक्रिया लामो हुने भएकाले सकेसम्म एमालेलाई राजीनामाका लागि दबाब दिने योजनामा रोकिएका थिए ।
यसअघि नै नागरिक उन्मुक्ति पार्टी र लोसपाले समर्थन फिर्ता लिने निर्णय गरे पनि त्यसलाई औपचारिकता दिइएको थिएन । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि नयाँ गठबन्धनमा आबद्ध दलले एकै पटक समर्थन फिर्ता लिने भन्दै ती दललाई रोकिएको थियो ।

८७ सांसद रहेको लुम्बिनी प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४४ सांसद आवश्यक हुन्छ । लुम्बिनी प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, जसपा, लोसपा, नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायतका दल सम्मिलित गठबन्धनबाट नयाँ सरकार गठन गर्ने तयारी भइरहेको हो ।

यद्यपि सो गठबन्धनबाट को मुख्यमन्त्री बन्ने भन्नेबारे टुङ्गो लागिसकेको छैन । माओवादी केन्द्र र कांग्रेसले सरकारको नेतृत्वमा दाबी गरिरहेका छन् । नेपालप्रेसले उल्लेख गरेको छ।

 

अन्य समाचारहरु