
काठमाडौं । कालापानी, लिपुलेक, लिम्पियाधुराको पनि जनगणना गर्ने उद्घोष गरिए तापनि सरकारले सो क्षेत्रबाहेकको जनगणनाको अन्तिम रूप सार्वजनिक गरेको छ ।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक गरेको राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ ।

भारतले प्रवेश नदिएपछि अनौपचारिक रूपमा तथ्यांक संकलनको प्रयास गरे पनि सही मापन नभएकाले कालापानी, लिम्पियाधुरा, लिपुलेक राष्ट्रिय जनगणनामा समावेश नभएको भनाइ राष्ट्रिय तथ्यांक कार्यालयको रहेको छ ।
१२औं जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदनमा नेपालमा १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् (४८.९८ प्रतिशत) पुरुष र १ करोड ४९ लाख ११ हजार २७ अर्थात् (५१.०२ प्रतिशत) महिला छन् । अन्य लिंगीको संख्या २ हजार ९ सय २८ छ ।

यसअघि २०७८ माघ १२ मा कार्यालयले नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको थियो ।-राजधानी ।




