राजबिराज, कार्तिक ११ – सप्तरी र सिरहाको छुट्टाछुट्टै ठाउँमा बिहीबार करेन्ट लागेर एक बालिका सहित दुई जनाको मृत्यु भएको छ ।
सप्तरीको छिन्नमस्ता गाविसमा बिहीबार बिहान एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिर प्राङ्गणमा फुल टिप्न जाादा स्थानिय कपलेश्वर मण्डलको करेन्ट लागेर मृत्यु भएको हो । मन्दिर समितिले फुलको बोटमा चीम बाल्नका लागि प्रवाह गरेको बिद्युतको करेन्ट लागेर ३५ वर्षीय मण्डलको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
मृतकको शवलाई पोष्टमार्टमका लागि सगरमाथा अञ्चल अस्पताल राजविराज ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै सिरहाको हकवारा गाविसमा पोखरीको पानीमा करेन्ट लागेर एक जना बालिकाको ज्यान गएको छ । पोखरी नजिकैबाट गएको बिद्युतको पोलबाट तार चुडिएर पोखरीमा खस्दा पानीमा बिद्युत प्रवाह भएको थियो । पोखरीमा बिहानै भाडा मस्काउन जाँदा कटेन्ट लागेर स्थानीय खुशीलाल यादवकी ११ वरषीया छोरी राधा यादवको मृत्यु भएको अञ्चल प्रहरी कार्यालय राजविराजले जनाएको छ ।



