क्यानडाको टोरन्टोमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०२ औँ जन्मजयन्तीको सन्दर्भमा कविगोष्ठी सम्पन्न भएको छ ।
एनआरएन क्यानडाको भाषा साहित्य विभागको आयोजनामा भएको उक्त कविगोष्ठीमा २५ जना कविले आफ्ना कविता वाचन गरेका थिए ।
गोपीकृष्ण काफ्ले, डा. तुलसी धरेल, कुसुम ज्ञवाली, गोविन्दिसंह रावत, मुक्ति गौतम, भावना पोखरेल, सुभाष सत्याललगायतका कविले वाचन गर्नुभएको कवितामा नेपालप्रतिको चासो हार्दिकता र लगावका प्रतीक र बिम्बको सुमधुर सङ्गम पाइन्थ्यो ।
महाकवि देवकोटाले नेपाली कवितालाई अङ्ग्रेजी साहित्यसँग प्रतिस्पर्धामा लैजान गरेको प्रयासको सम्झना गर्दै कवि साधना रिमाल, प्रीया श्रेष्ठ, मनिषा देवकोटा, शिशिर भुसाल र मनिष देवकोटाले आ-आफ्ना अङ्ग्रेजी कवितासमेत वाचन गर्नुभएको थियो ।
क्रियाशील साहित्यिक समूह र व्यक्तिबीचमा समुचित संयोजन गरी क्यानडामा रहेर नेपाली साहित्य सिर्जना गरिरहेकाहरुको एकीकृतरुपमा साहित्यिक गतिविधिलाई तीव्रता दिनका लागि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय सदस्य गोपीकृष्ण काफ्लेको संयोजकत्वमा ११ सदस्य रहेको समिति गठन गरिएको क्यानडामा हालै विद्यावारिधिका लागि जानुभएका कुसुम ज्ञवालीले इमेलमार्फत जानकारी दिनुभयो ।