लम्पी स्किन : पशुहरूमा लम्पी स्किन रोगको संक्रमण घट्दै गएको मन्त्री भुसालको दाबी

1

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले पशुमा लाग्ने लम्पिस्किन रोग क्रमशः घट्ने क्रममा रहेको बताएका छन् ।

1

बिहीवार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री भुसालले देशभर पशुहरुमा देखापरेको लम्पी स्किन रोग घट्ने क्रममा रहेको बताएका हुन् । संक्रमित पशुहरुको मृत्युदर पनि क्रमशः घट्ने क्रममा रहेको बताउँदै उनले हालसम्म १२ लाखभन्दा बढी मात्रा खोप ल्याइसकिएको र २ लाख ५० हजार ७६६ पशुलाई खोप दिइसकिएको दाबी गरे ।

मन्त्री भुसालले रोग नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहबाट आवश्यक औषधिको आपूर्ति गर्ने व्यवस्था मिलाइएको स्पष्ट पारे । मन्त्रालयमा चालु आर्थिक वर्षमा बचत हुने बजेट रकमान्तर गरी स्थानिय तहमा पठाइएको उनको भनाई छ ।

‘लम्पी स्किन रोगबाट हालसम्म ७ लाख ८२ हजार १८४ पशु संक्रमित भएका छन् । संक्रमित मध्ये २८ हजार १ पशुको मृत्यु भएको छ भने ५ लाख २१ हजार ८१४ निको भएका छन् । २ लाख ३२ हजार ३०९ अहिले पनि संक्रमित अवस्थामा रहेका छन्,’ उनले भने, ‘यस रोगको रोकथामका लागि मन्त्रालयबाट सम्भव भएसम्मका सम्पूर्ण प्रयास गरिएको छ । अहिले हामीले जोर्डन, तान्जनिया र टर्कीबाट भ्याक्सिनहरु आयात गरिरहेका छौँ । हालसम्म १२ लाखभन्दा बढी डोज भ्याक्सिन ल्याइएको छ । असार २६ गतेसम्म २ लाख ५० हजार ७६६ पशुलाई खोप लगाइएको छ ।

अहिले संक्रमण क्रमशः घट्नेक्रममा छ र मृत्युदर पनि क्रमशः घट्ने क्रममा रहेको सदनलाई जानकारी गराउन चाहान्छु । यस रोगको रोकथाम तथा नियन्त्रणको लागि संघ, प्रदेश र स्थानीय तहबाट आवश्यक औषधिको आपूर्ति गर्ने व्यवस्था मिलाइएको छ । मन्त्रालयमा चालु आर्थिक वर्षमा बचत हुने बजेट रकमान्तर गरी स्थानिय तहमा पठाइएको छ । र साथै विभिन्न विकास साझेदारहरु सँग यस रोगको रोकथाम तथा नियन्त्रणका लागि सहयोग गर्न आह्वान पनि गरिएको छ ।’

ad