केदारनाथ पहिरोमा एकै परिवारका ७ जना सहित् १३ नेपाली बेपत्ता

1

भारत उत्तराखण्डको रुद्रप्रयाग जिल्लास्थित गौरीकुण्डनजिकै बिहीबार राति ठूलो वर्षासँगै खसेको पहिरोमा परी नेपालका १३ र भारतका ६ जना बेपत्ता भएका छन् ।केदारनाथ प्रवेश गर्ने मुख्य विन्दुमा पर्ने गौरीकुण्डमा पहिरोले नेपालीले सञ्चालन गर्दै आएका तीन होटल बगाएको छ । पहिरोमा परी जुम्ला पातारासी–३ चौरगाउँका एकै परिवारका ७, पातारासी–२ का ३ र हुम्लाका ३ सहित १३ जना बेपत्ता भएका हुन् ।

ad

तीमध्ये तीन नेपालीको शव शुक्रबार साँझ भेटिएको गौरीकुण्डस्थित अस्थायी प्रहरी चौकीका इन्चार्ज कुलेन्द्रसिंह रावतले जानकारी दिए । उनीहरूको सनाखत भएको छैन ।पातारासी–३ का वडाध्यक्ष गोविन्द रावतले २८ वर्षीय अमर बोहोरा, उनकी पत्नी २६ वर्षीया अनिता, १४ वर्षीया छोरी राधिका, ८ वर्षीया छोरी पिंकी, ७ वर्षीय छोरा पृथ्वी, ६ वर्षीय छोरा जटिल र ३ वर्षीय छोरा वकिल बेपत्ता भएको बताए ।

गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराका अनुसार पातारासी–२ पेरेका २२ वर्षीय चन्द्र नेपाली र ५५ वर्षीया धनराज बुढा पनि सोही पहिरोमा बेपत्ता भएका छन् । भारतीय सञ्चारमाध्यमले पातारासी–२ कै सुखराम रावत, हुम्लाका वीरबहादुर, उनकी पत्नी सुमित्रा र छोरी निशा पनि बेपत्ता भएको जनाएका छन् ।

बेपत्ता हुने अमरका छिमेकी श्रीराम थापाका अनुसार अमरका तीनै दाजुभाइ गौरीकुण्ड आसपास अलग–अलग होटल खोलेर बसेका थिए । अमरले श्रीमती र दुई छोराछोरी उतै राखेका थिए भने तीन छोराछोरी गाउँमै छाडेका थिए । गत माघमा घर आएका बेला उनले तीन छोराछोरीलाई पनि साथैमा लिएर गएका थिए । होटल पहिरोले बगाउँदा उनको परिवारै बेपत्ता भएको हो । प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले लेदोसहितको पहिरोले होटललाई मन्दाकिनी नदीमा पुर्‍याएकाले बेपत्ताहरू फेला नपरेको उल्लेख गरेका छन् । बेपत्ता अमरका ठूलो बुबा ताराबहादुर बोहोराले पूरै परिवार बेपत्ता भएको खबरले आफूहरू चिन्तित भएको बताए ।

गृह मन्त्रालयले पहिरोमा परी बेपत्ता भएका नेपालीको खोजी तथा उद्धारका लागि आवश्यक समन्वय गर्न परराष्ट्रलाई पत्राचार गरेको छ ।

श्रोत कान्तिपुर

ad