राजनीतिक गतिरोधका कारण तनावमा रहेका माओवादी दाहाल एकान्त खोज्दै धुलिखेलमा

काठमाडौँ, जेठ ५  – राजनीतिक गतिरोधका कारण तनावमा रहेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल एकान्त खोज्दै आज बिहान धुलिखेलको द्वारिकाज हिमालयन साङ्ग्रिला रिसोर्ट पुगेका छन्।

 

दाहालका साथ उनका पुत्र प्रकाश र तामसालिङ राज्य कमिटी इञ्चार्ज अग्नि सापकोटा रहेका छन्।

स्रोतका अनुसार केन्द्रीय समितिमा एजेन्डा प्रस्तुत गर्न एकान्त खोज्दै उनी त्यहाँ पुगेका हुन्। केन्द्रीय समितिको बैठक शुक्रबारदेखि बस्दैछ।


अनिश्चित आम हड्ताल फिर्ता लिएपछि लगभग कार्यक्रमविहीन बनेको माओवादीले सरकारसँग औपचारिक वार्ता नथाल्ने बताएको छ। जेठ १४ देखि सकिने संविधान सभाको म्याद यही स्थितिमा नथप्ने निर्णय गरेको माओवादीले यसअघि घोषणा गरेको कार्यक्रम स्थगित गर्दै जेठ १५ मा सडकबाट संविधान घोषणा गर्ने बताएको छ।


सोही संविधानको मस्यौदा अध्ययन गर्न पनि उनी त्यहाँ पुगेको अनुमान केहीले गरेका छन्।


दाहाल आउने थाहा पाएर रिसोर्ट परिसरमा पुगेका सञ्चारकर्मीहरुलाई उनले कुनै प्रतिक्रिया भने दिएनन्।


यसअघि पोहोर प्रधानमन्त्री छँदा दाहाल मे दिवसमा  खुलामञ्चमा आयोजित  सभामा सम्बोधन नगरी लप्सीफेदीस्थित झुले रिसोर्टमा पुगेका थिए। त्यतिबेला दाहाल प्रधानसेनापति रुक्माङ्गत कटवाललाई कारबाही गर्ने कि नगर्ने भन्ने विषयमा ठूलो दबाबमा थिए। त्यहाँबाट फर्किएको केही दिनपछि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।