माओवादी वर्तमान सरकारको विघटन र राष्ट्रिय सरकार गठन हुनुपर्ने अडानमा अडिग

प्रमुख प्रतिपक्षी एकीकृत माओवादीको केन्द्रिय समितिले वर्तमान सरकारको विघटन र राष्ट्रिय सरकार गठन हुनु पर्ने अडान नछोड्ने संकेत दिएपछि माओवादी र सरकारमा सामेल दलहरुबीच तत्कालै सहमति बन्ने र बेलैमा संविधानसभाको म्याद बढ्नेमा आशंका बढेको छ।

 

प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीले संविधानसभाको म्याद बढाउनको निम्ति पुरानै शर्तहरु दोहोर्‍याएको छ।

प्रधानमन्त्रीको राजीनामा आउनु पर्ने र राष्ट्रिय संयुक्त सरकार गठन हुनु पर्ने अडानलाई माओवादीको केन्द्रिय समितिले पारित गरेपछि बेलैमा संविधानसभाको म्याद बढ्नेमा आशंका बढेको छ।


यद्यपि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति हुनसक्ने संभावनालाई पुरै अस्विकार गरेनन्।


चार दिन सम्म चलेको केन्द्रिय समितिको बैठकपछि सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले आफ्ना सबै केन्द्रिय सदस्यहरु सहमतिका आधारमा संविधानसभाको म्याद बढाउन एक मत रहेको बताए।