संविधानसभाको म्याद एक वर्ष थप्ने निर्णयसंगै सत्तापक्ष र प्रतिपक्ष दलहरूबीच अविश्वासको संकेत

Madhavkumar_Nepal

संविधानसभाको म्याद एक वर्ष थप्ने निर्णयसंगै सहमतिको बाटोमा लाग्ने बताएको भोलिपल्ट, गणतन्त्र दिवसका दिन, शनिबार, सत्तापक्ष र प्रतिपक्षका नेताहरुले एक अर्काप्रति अविश्वास र कटाक्ष प्रकट गरेका छन्।

 

माधवकुमार नेपालले आफ्नो पुरानै प्रधानमन्त्रीय शैलीमा सहमतिको नयाँ यात्रामा आउन माओवादीलाई आग्रह गरे।

माओवादीका नेता बाबुराम भट्टराईले चाहिं शुक्रवारको सहमति कार्यान्वयनमा शंका रहेको लुकाएनन्।


आधा रातमा गरिएको सहमतिको हस्ताक्षरको मसी सुक्न नपाउँदै दुई पक्षबीच त्यसरी अविश्वासका स्वर शनिवार एकै ठाउँबाट सुनिएको थियो।


एकतर्फी


राजधानीको टुँडिखेलको दुई भागमा शनिवार दुई थरी कार्यक्रमहरू भएका थिए।


बिहान सैनिकमञ्चमा आयोजना गरिएको गणतन्त्र दिवसको सरकारी कार्यक्रममा माओवादी नेताहरु देखिएनन्।


दिउँसो खुलामञ्चमा आयोजित पार्टी कार्यक्रममा माओवादी नेताहरुले एकतर्फी रुपमा उनीहरुले भन्ने गरेको जनसंविधानको मस्यौदा सार्वजनिक गरेका थिए।


सैनिकमत्र्चमा आयोजित कार्यक्रममा तीन पृष्ठ लामो भाषण पढेका प्रधानमन्त्री माधवकुमार नेपालले, शुक्रबार मध्यरातमा भएको सहमतिका आधारमा राजीनामा गर्ने कुरा उल्लेख समेत गरेनन्।


बरु उनले माओवादीलाई सहमतिको यात्रामा आउन अनुरोध गरे।