काठमाडौ, जेष्ठ १७ – प्रधानमन्त्रीको राजीनामाको बिषयमा पुरानै अडान दोहोरिएपछि तीन दलको बैठक बिना निष्कर्ष टुंगिएको छ । बैठकमा कांग्रेस र एमालेका नेताहरुले प्रधानमन्त्रीको राजीनामा अघि लडाकु समायोजन र व्यवस्थापनमा रहेको असहमति टुंग्याउनुपर्ने अडान राखेका थिए । माओवादीले भने तीन बुँदे सहमतिको क्रममा पाँच दिनभित्र प्रधानमन्त्रीले राजीनामा दिने नेताहरुले प्रतिबद्धता जनाएकाले त्यो पूरा भएपछि मात्रै थप बिषयमा छलफल थाल्न सकिने अडान राखेको छ । बैठकपछि माओवादी नेता नारायणकाजी श्रेष्ठले कांग्रेस एमालेले सहमतिलाई तोडमोड गर्न खोजेको बताए ।
शीर्ष नेताहरुको बैठक भनिएपनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल सहभागी थिएनन ।
तीन दलको बैठक सुरु हुनु अघि बसेको माओवादी स्थायी समितिको बैठकले तीन बुँदे सहमति गर्ने क्रममा पाँच दिनभित्र प्रधानमन्त्रीले राजीनामा दिने नेताहरुले प्रतिबद्धता जनाइसकेकाले त्यसलाई प्राथामिकता दिइनुपर्ने ठहर गरेको थियो भने एमालेले माओवादी लडाकुको समायोजन र व्यवस्थापनबारे छलफल गरेको थियो ।
बैठकमा माओवादी उपाध्यक्षत्रय मोहन बैद्य, वावुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र दिनानाथ शर्मा तथा कांग्रेस कार्यवाहक सभापति सुशिल कोइराला, संसदीय दलका नेता रामचन्द्र पौडेल, महामन्त्री विमलेन्द्र निधि, अर्जुननरसिंह केसी, कृष्ण सिटौला लगायतका नेताहरुको सहभागिता थियो ।
त्यसैगरी एमाले अध्यक्ष झलनाथ खनाल, महासचिव इश्वर पोखरेल, भरतमोहन अधिकारी लगायतका नेताहरु बैठकमा सहभागी थिए ।



