शान्ति प्रकृया, संविधान निर्माण र राष्ट्रिय सहमतिको सरकार निर्माणलाई प्याकेजमै हल गर्नुपर्ने भन्दै माओवादीलाई सहमतिमा आउन कांग्रेस र एमालेको आग्रह

काठमाडौ, जेष्ठ २१ – कांग्रेस र एमालेले शान्ति प्रकृया, संविधान निर्माण र राष्ट्रिय सहमतिको सरकार निर्माणलाई प्याकेजमै हल गर्नुपर्ने भन्दै माओवादीलाई सहमतिमा आउन आग्रह गरेका छन् ।

 

प्रधानमन्त्री निवास वालुवाटारमा शुक्रबार विहान बसेको ति दुई दलको बैठकले तीन बुँदे सहमतिलाई अक्षरस पालना गर्नुपर्नेमा कांग्रेसले सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको थियो ।

 

सहमति कार्यान्वयन सम्बन्धमा भएको प्रगति र माओवादीको असन्तुष्टिबारे पनि बैठकमा छलफल भएको कांग्रेस प्रवक्ता अर्जुननरसिंह केसीले जानकारी दिए ।

 

माओवादीले गर्ने आन्दोलनबारे पनि छलफल भएको उनले जानकारी दिए ।

 

माओवादीलाई आन्दोलन गर्ने छुट भएपनि त्यसले सहमति कार्यान्वयनमा बाधा उत्पन्न भए त्यसको परिणामको दोषी माओवादी हुनुपर्ने केसीले बताए ।

 

कांग्रेस र एमालेले तीन बुँदे सहमतिको मर्म र भावनामाथि कुठाराघात गरेको आरोप लगाउदै माओवादीले सरकार विरुद्ध आन्दोलन गर्ने निष्कर्ष निकालेको भोलिपल्ट ति दुई दलले माओवादीले सम्झौता पालना नगरेसम्म प्रधानमन्त्रीले राजीनामा नदिने अडान दोहोर्‍याएका हुन् ।

 

तीन बुँदे सहमति अनुसार माओवादीले संविधान निर्माण, लडाकु समायोजन, वाईसीएलको अर्द्ध सैनिक संरचना भंग, कब्जा सम्पत्ती फिर्ता लगायतका बिषयमा समयसीमा सहितको स्पष्ट कार्ययोजना ल्याएपछिमात्रै प्रधानमन्त्रीले राजीनामा दिने कांग्रेस र एमालेले अडान राख्दै आएका छन् ।