काठमाडौं, जेष्ठ २२ – एमालेका स्थायी कमिटी सदस्य केपी शर्मा ओलीले जेठ १४ गते प्रमुख तीन दलबीच तीन बुदाँमा बाहेक अन्य कुनै गोप्य सम्झौता नभएकाले आफूखुसी व्याख्या नगर्न माओवादीलाई आग्रह गरेका छन् ।
युथ फोर्स नेपालको तेस्रो वार्षिकोत्सवको उपलक्ष्यमा युवा सङ्घ नेपाल, काठमाडौं जिल्ला समितिले शनिबार यहाँ आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो दिन सम्झौता भएको तीन बुदाँलाई कति दिनभित्र कार्यान्वयन गर्ने भन्ने सम्बन्धमा माओवादीले दुई दिनमा कार्यान्वयन गर्ने भनेपछि त्यसको पाँच दिनमा प्रधानमन्त्रीले राजीनामा दिने कुरा भएको स्पष्ट पारे । सम्झौता गरिएका बुदाँको दुई दिनभित्र कार्यान्वयन नगर्ने तर प्रधानमन्त्रीको राजीनामा मात्रै माग्ने माओवादीलाई ती बुँदाको इमान्दारिताका साथ कार्यान्वयन गर्न उनको आग्रह थियो ।
गणतन्त्रलाई संस्थागत गर्न, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन तथा संविधान प्रक्रियालाई सघाउन युवाहरूलाई आग्रह गर्दै नेता ओलीले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याई थपिएको समयअगावै नयाँ संविधान जारी गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
एमालेका पोलिटब्युरो सदस्य प्रदीप नेपालले माओवादी उग्रवामपन्थी भएकाले ऊसँग कुनै एकता हुन नसक्ने बताउँदै राजतन्त्रवादीलाई बलियो बनाउने र गणतान्त्रिक शक्तिलाई कमजोर बनाउने कार्यमा माओवादी लागेको आरोप लगाए ।
चितवनका चिकित्सक डा. भक्तमान श्रेष्ठको अपहरण माओवादीले नै गरेको आरोप लगाउँदै उनले जनदबाब बढेपछि नक्कली पार्टीको नाम दिएर अपहरणको आरोप लगाएको दाबी गरे ।
युवा सङ्घ नेपालका अध्यक्ष महेश बस्नेतले शान्ति प्रक्रियालाई निष्कर्षमा पुग्ने र संविधान बन्ने टुङ्गो नलागेसम्म प्रधानमन्त्रीले राजीनामा दिन नहुने धारणा राखे । यतिबेला जनताले शान्ति र सुरक्षाको अनुभूति गर्न नपाएकाले ठोस काम गर्न एमालेलाई आग्रह गर्दै उनले युवा सङ्घका आठजना सहिद भएकाले यसतर्फ पार्टीले ध्यान दिनुपर्ने बताए ।
एमालेका केन्द्रीय सदस्य कर्ण थापाले मुलुकमा कानुनको शासन हुनुपर्ने र दलहरूबीच भएका सहमति इमान्दारिपूर्वक कार्यान्वयन हुनुपर्ने विचार राखे ।
आयोजक संस्थाका अध्यक्ष निरेशलाल सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा युवा सङ्घका केन्द्रीय सचिव राजिव पहाडी, युवा नेताहरू रामेश्वर श्रेष्ठ, रितेश पौडेल, निर्मल कुइँकेललगायतले मुलुकमा शान्ति स्थापना र संविधान लेखन प्रक्रियाका सघाउन आफूहरू लाग्ने बताए ।



