१३ साना दलद्बारा प्रमुख तीन दललाई तीन बुँदे सहमति लागु गर्दै राष्ट्रिय सहमतिको सरकार गठन सुनिश्चित गर्न अनुरोध

काठमाडौँ  । संविधानसभामा प्रतिनिधित्व गर्ने १३ साना दलको सोमबार बसेको बैठकले प्रमुख तीन राजनीतिक दलबीच भएको तीन बुँदे सहमतिको बुँदा नं.१ र ३ लाई समानान्तर शैलीमा लागु गर्दै राष्ट्रिय सहमतिको सरकार गठन सुनिश्चित गर्न अनुरोध गरेको छ ।


राष्ट्रिय प्रजातन्त्र पार्टी -राप्रपा)को सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले तीन बुँदे सहमतिबारे बुँदा नं.१ र ३ मध्ये कुन अगाडि लागु गर्ने प्रश्नले राष्ट्रमा ठूलो विश्वासको सङ्कटको स्थिति सिर्जना गरेको भन्दै ती दुवै बुँदालाई एकैसाथ लागु गर्न आग्रह गरेको हो ।


बैठकले संविधानमा तोकिएबमोजिम राज्य पुनर्संरचना आयोग गठनलाई सुनिश्चित गर्न अन्तरिम संविधान अनुरूप अगाडि बढ्नु संविधानसभा र समितिका लागि पनि सहयोगी हुने ठहर गरेको छ ।


दुई वर्षमा संविधानसभाले उल्लेखनीय काम गरेको भएपनि सबैकुरा पूरा हुन सकेन भन्दै बैठकले संविधानसभाको समयावधि थपेर भएपनि आफ्नो संविधान आफै बनाउने ऐतिहासिक अवसर नगुमाउने उद्देश्यबाट प्रेरित भई सबै नेपाली नागरिकले पुर्‍याएको सकारात्मक योगदानप्रति धन्यवाद ज्ञापन गरेको छ ।


बैठकमा राप्रपा, नेपाल परिवार दल, राष्ट्रिय जनशक्ति पार्टी, नेकपा -संयुक्त), चुरेभावर पार्टी, नेकपा -माले), समाजवादी प्रजातान्त्रिक जनता पार्टी, नेपाल लोकतान्त्रिक समाजवादी दललगायतका दलका नेताहरूको सहभागिता थियो ।