काठमाडौ, जेष्ठ २८ – माओवादीले अब बन्ने राष्ट्रिय सरकार आफ्नै नेतृत्वमा हुनुपर्ने अडान लिएको छ । यसअघि शान्ति र संविधान सुनिश्चित भए अन्य दलको नेतृत्वमा पनि सरकार गठनका लागि विकल्प दिने बताएको उसले त्यस निर्णयमा पुर्नविचार गर्दै नेतृत्व नछाड्ने जनाएको छ ।
शुक्रबार बसेको स्थायी समिति बैठकले सरकारको नेतृत्व माओवादीले मात्र गर्न सक्ने निर्णय गरेको बैठकपछि पार्टी प्रवक्ता दीनानाथ शर्माले बताए । बिहीबार केन्द्रीय पदाधिकारीहरुको बसेको बैठकले सरकार आफूले बनाउन पाए त्यसको नेतृत्व अध्यक्ष पुष्पकमल दाहालले नै गर्ने निर्णय गरेको थियो । पार्टी भित्रको विकल्प बारे स्थायी समिति बैठकले स्पष्ट पारेको छैन ।
काँग्रेस र एमालले दाहालको नेतृत्वमा सरकार स्वीकार्य हुन नसक्ने बताउँदै आएको छ । माओवादी उपाध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा सरकार बनाउन उनीहरु सकारात्मक देखिएका छन् । दुई दलको उक्त भनाईलाई माओवादीले अधिनायकवाद,तानाशाही र अलोकतान्त्रिक अभिव्यक्ति भनेको छ । सेना समायोजन बारे स्थायी समितिले खाका तयार गर्ने भनिएपनि ३० गते बस्ने पोलिटब्यूरो बैठकबाट खाका तयार पारिने भएको छ ।



