तीन दिनअघि दार्खा गाविसको वडा नम्वर ७ मा भएको भलिवल प्रतियोगिता हेरेर घर र्फकँदै गरेका थापामगरलाई वाइसिएल धादिङ क्षेत्र नम्बर १ का इन्चार्ज विक्रम तामाङको नेत्तृत्वमा रहेको समूहले अपहरण गरेको आरोप लगाइएको छ । उनलाई अपहरणकारी समुहले हत्या गरेको एमाले धादिङले दाबी गरेको छ ।
अपहरण पश्चात हराईरहेका थापामगरको खोजी गरिरहेका गाउँलेहरूले बुधबार बिहान दार्खा – १, राउतेको जंगलमा शव भेटाएको हो ।
घटनास्थल सदरमुकाम धादिङबेसीबाट एक दिनको पैदल यात्रामा पुग्न सकिन्छ । घटनाको जानकारी आए लगतै जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रेमसागर केसीको नेतृत्वमा प्रहरी टोली परिचालन भएको छ ।
एमाले धादिङले घटना माओवादीका कार्यकर्ताहरूबाट भएको भन्दै दोषीमाथि तत्काल कारबाही हुनुपर्ने माग गरेको छ । ४० वर्षिय थापामगर एमाले धादिङ जिल्ला कमिटीका पूर्व सदस्य थिए । माओवादी धादिङले भने सो हत्यामा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको जनाएको छ ।



