माओवादीद्बारा प्रधानमन्त्रीको तेह्रौ चरणको चुनाव अगावै प्रमुख दलहरुबीच सहमति जुट्नु पर्नेमा फेरि जोड

प्रमुख प्रतिपक्षी एकीकृत माओवादीले प्रधानमन्त्री चयनको लागि हुने तेह्रौ चरणको चुनाव अगावै प्रमुख दलहरुबीच सहमति जुट्नु पर्नेमा फेरि जोड दिएको छ।


सो दलका एकजना वरिष्ठ नेताका अनुसार सहमति जुटाउन अन्य प्रमुख दलहरुसँगको संवादला तिव्रता दिइने छ।


तर प्रधानमन्त्रीको चुनावी प्रक्रियाबाट पछि नहटेको नेपाली कांग्रेसले भने, उस्कै शब्दावलीमा, शान्ति प्रक्रियालाई टुङ्ग्याउन माओवादीबाट परिणाममुखी प्रतिबद्धता नआएसम्म सहमति हुन नसक्ने अडान दोहोर्‍याएको छ।


बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा बसेको एकीकृत माओवादीको पदाधिकारी वैठकमा राजनीतिक गतिरोध तोड्ने उपायका विषयमा गम्भीर छलफल भएको एकजना माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले बताए।


उनका अनुसार कार्तिक ९ गते प्रधानमन्त्री चयनको लागि हुने १३औं चुनाव अगावै प्रमुख दलहरुबीच सहमति जुटाउन छलफललाई तिब्रता दिने निर्णय भएको छ।